सिके राउतको नेताहरुसंग श्रृङ्खलाबद्ध भेट : के सत्ताको साँचो राउतको हातमा पुगेको हो ?
काठमाडौं,मंसिर १६ । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट निर्वाचित भएपछि एकाएक राष्ट्रिय राजनीतिमा छाएका छन् । २ दिन अघि कांग्रेस नेता बिमलेन्द्र निधिसँग भेट गरेका राउतले आज (बिहीवार) मात्रै महत्वपूर्ण ३ ओटा भेटघाट गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका राउतले त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बालकृष्ण खाँणलाई पनि भेटेका छन् । प्रचण्डलाई उनको निबास खुमलटारमा भेटेका राउतले गृहमन्त्री खाँणलाई मन्त्री क्वाटर पुल्चोकमा गएर भेटेका हुन् ।
पछिल्लो २ दिनमा उनको भेटघाट निकै बाक्लिएको छ । प्रत्यक्षतर्फ १ सिट मात्रै जितेको राउतको जनमत पार्टीले समानुपातिक तर्फ कम्तिमा ४ सिट सुरक्षित गरिसकेको छ ।
सत्ता गठबन्धन दलको अंकगणितमा सहजै बहुमत पुग्ने अवस्था नभएपछि सत्तारुढ दलका नेताले राउतलाई फकाइरहेका छन् । राउत पनि शक्तिसाली मन्त्रालय लिएर सरकारमा सहभागी हुन इच्छुक देखिएका छन् ।
राउत सत्ता गठबन्धनसँग नमिलेर नेकपा एमालेको गठबन्धनमा गएमा अहिलेको सत्ता गठबन्धनलाई फेरि सरकार बनाउन धौ धौ पर्ने देखिएको छ ।
समानुपातिक मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छैन । नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर समानुपातिकबाट ४ सिट पाएको खण्डमा भने अहिलेकै सत्ता गठबन्धनको बहुमत पुग्ने देखिन्छ । तर मतगणना अन्तिम चरणमा पुगिसकेकोले त्यो सम्भावना कम हुँदै गएको छ । समाजवादीले २ दशमलव ९० प्रतिशत मत पाएको छ । उसलाई राष्ट्रिय पार्टी बन्नको लागि ० दशमलव १० प्रतिशत मत अपुग हुने देखिन्छ ।