भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ, मूल्य नघटाए निगमलाई दैनिक २ करोड नाफा
काठमाडौं,मंसिर १५ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशनबाट आएको पछिल्लो मूल्य सूची अनुसार मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा जाने छ । जस अनुसार १ दिन मूल्य समायोजन नगर्दा पनि निगमलाई झण्डै दैनिक २ करोड रुपैयाँ नाफा हुने छ ।
निगम स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्दा १५ दिनमा ५८ करोड रुपैयाँभन्दा बढी नाफा हुने देखिएको छ ।भारतले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई डिजेलमा प्रतिलिटर ११ रुपैयाँ नाफा हुनेछ । त्यस्तै पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ र मटीतेलमा प्रतिलिटर ३५ रुपैयाँ नाफा हुनेछ ।
यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा हुनेछ । निगम घाटामा भएको खाना पकाउने ग्यासमा मात्रै हो । ग्यासको घाटा पनि घटेर प्रतिसिलिण्डर २७७ रुपैयाँ मात्रै हुने छ ।