यी ‘अभागी’ नेता, जसलाई फापेन दल अदलबदल
काठमाडौं । पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा जितको ह्याट्रिक गर्ने योजनामा थिए, नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे । नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका उनले माउ पार्टीबाटै पछिल्ला दुई चुनाव जितेका थिए । तर, यो चुनाव उनलाई ‘फापेन’ । उनी आफ्नै पूर्वसहकर्मी एमालेका ठाकुर गैरेसँग पराजित भए । गैरेले २० हजार ३५६ मत पाउँदा उनले १६ हजार ३१० मत ल्याए ।
दल अदलबदलपछि चुनाव नजित्ने नेता हुन्, एमाले सचिव लेखराज भट्ट । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनी यो चुनावमा कैलाली–४ बाट नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग ३ हजार ५८४ मतान्तरले पराजित भए । उनले २२ हजार ५८७ मत पाउँदा बलायरले २६ हजार १७१ मत ल्याए । उनले अघिल्लो चुनाव भने सोही क्षेत्रबाट जितेका थिए ।
दल अदलबदल चुनाव नजित्ने नेताको सूचीमा छन्, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा । मकवानपुर–२ बाट चुनाव लडेका उनी आफ्नै पूर्वसहकर्मी एमालेका महेशकुमार बर्ताैलासँग साढे ४ हजारभन्दा बढी मतान्तरले पराजित भए । उनले ३० हजार ३९६ मत पाउँदा बर्ताैलाले ३४ हजार ९१६ मत ल्याए । यसअघिको चुनावमा एमालेबाट चुनाव लडेका खतिवडाले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)लाई १६ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका थिए ।
यो सूचीमा एमाले नेता गौरीशंकर चौधरीको पनि नाम आउँछ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनी यो चुनावमा कैलाली–३ बाट जित्न त परै जाओस्, दोस्रोसम्म हुन सकेनन् । उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मत ल्याएर चुनाव जिते । दोस्रो रहेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाउँदा उनले ९ हजार ८७४ मत ल्याए ।
उनले २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । उक्त निर्वाचनमा उनले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई पराजित गरेका थिए ।
दल अदलबदल गरी चुनाव नजित्ने नेतामा पर्छन्, एकीकृत समाजवादीका कृष्णलाल महर्जन । ललितपुर–२ बाट चुनाव लगेका उनी आफ्नै पूर्वसहकर्मी एमालेका प्रेमबहादुर महर्जनसँग पराजित भए । प्रेमबहादुरले १५ हजार २५ मत पाउँदा उनले ८ हजार २६४ मत पाए । अघिल्लो चुनावमा एमालेबाट चुनाव लडेका उनले कांग्रेसका चन्द्र महर्जनलाई पराजित गरेका थिए ।
यो सूचीमा एकीकृत समाजवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको पनि नाम आउँछ । एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका उनले जित कायम राख्न सकेनन् । अघिल्लो चुनावमा काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले यो चुनावमा ‘नराम्रो’ पराजय भोग्नुपर्याे । सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी बने । दोस्रो बनेका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाउँदा मन्त्री श्रेष्ठले ४ हजार २६६ मत मात्रै पाए ।
दल अदलबदलपछि चुनाव नजित्ने मामिलामा यी नेता ‘अभागी’ मानिन्छन् ।