फेरि बढ्यो खानेतेलको मूल्य



काठमाडौं,कात्तिक २८ । रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।

हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ ।

केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् । नेपाल दाल, चामल तथा तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले अन्तरराष्ट्रिय बजारमा सुधार आइनसकेकाले तत्काल मूल्य घट्ने वा स्थिर रहने सम्भावना नरहेको बताए । डलरको मूल्य बढ्नु, रुस–युक्रेन तनावका कारण लामो समय तेलको कच्चा पदार्थ उत्पादन हुन नसक्नु, युक्रेनको तेलहन उत्पादनमा असर पर्नुजस्ता कारणले मूल्य अझै बढ्न सक्ने संकेत देखिएको उनी बताउँछन् । उनका अनुसार युद्धका कारण विश्व बजारमा तेलको मूल्यमा आगामी २ वर्षसम्म असर पर्ने सम्भावना छ ।

साना र खुद्रा व्यापारी भने तेलको मूल्य वृद्धिमा उद्योगी र थोक व्यवसायीले देखाएको कारण मान्न तयार छैनन् । नजिकिँदै गरेको चुनावका कारण उद्योगी व्यवसायीले तेलको मूल्य मनपरी बढाएको उनीहरूको आरोप छ । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले ठूला उद्योगी र व्यवसायीले दलका नेतालाई चुनावमा ठूलो रकम चन्दा दिने र खर्च गर्ने भएकाले त्यसको असर खाद्यान्न जस्तो संवेदनशील क्षेत्रमा परेको बताए ।

‘उद्योगीले अहिले डलरको मूल्य र कच्चा पदार्थको अभावलाई कारण देखाइरहेका छन् । कच्चा पदार्थ अभाव भएको भए दशैंको मुखमा घटेको तेलको मूल्य यति चाँडै कसरी बढ्यो ? त्यसबेला किन कच्चा पदार्थ अभाव भएन । अर्को कुरा डलरको मूल्य २/३ रुपैयाँले बढ्दा तेलको मूल्य यति चर्को गरी बढ्नुपर्ने कुनै कारण छैन,’ उनले आर्थिक अभियानसँग भने ।

उनको आरोपको खण्डन गर्दै संघका अध्यक्ष गुप्ताले उद्योगी व्यवसायीले चुनावमा ठूलो रकम खर्च गर्ने भए पनि त्यसको ‘मेकअप’ यति चाँडै गर्ने उद्देश्य उनीहरूको नहुने दाबी गरे । ‘चुनावमा व्यवसायीले खर्च गर्छन्, नगर्ने होइन । तर, दीर्घकालीन रूपमा त्यसको स्रोत खोजिन्छ, अल्पकालीन रूपमा होइन । त्यसैले उनीहरूको आरोप गैरजिम्मेवार अभिव्यक्ति मात्रै हो,’ उनले भने ।

अन्तरराष्ट्रिय बजारको अवस्था हेर्ने हो भने पनि यतिबेला सनफ्लावर र सोयाबिन कच्चा तेलको मूल्य बढेको देखिन्छ । अघिल्लो महीना प्रतिटन १ हजार २ सय ६३ डलर रहेको सनफ्लावर कच्चा तेलको मूल्य हाल १ हजार ४ सय ४० डलरनजिक पुगेको छ । त्यसैगरी सोयाबिन कच्चा तेलको मूल्य पनि १ हजार ३ सय ६० डलरबाट बढेर १ हजार ४ सय ५१ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्