सामाजिक सुरक्षा कोषको गलत सूचना : ट्रमा सेन्टर पुग्ने योगदानकर्ताले दुःख पाए
काठमाडौं,कात्तिक २५ । सामाजिक सुरक्षा कोषले वेबसाइटमार्फत गलत सूचना प्रवाह गर्दा योगदानकर्ताले दुःख पाउने गरेको पाइएको छ । कोषले आफ्नो वेबसाइटमा योगदानकर्ताले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरबाट उपचार गराउँदा पनि औषधि उपचार योजनाअन्तर्गतको उपचार खर्च बेहोर्ने उल्लेख गरेको छ ।
तर, उसले ट्रमा सेन्टरसँग योगदानकर्तालाई उपचार सेवा दिने विषयमा सम्झौता नै नगरेको पाइएको छ । यसले गर्दा त्यहाँ गएर उपचार गराउने योगदानकर्ताले दुःख पाउने गरेका छन् ।
कोषले देशभरका १७ ओटा अस्पतालसँग सम्झौता गरेर आफ्ना योगदानकर्ताले अस्पतालको ओपीडी सेवाअन्तर्गत उपचार गर्दा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म खर्चमा अस्पतालबाट ८० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
विगत ३ वर्षदेखि सामाजिक सुरक्षा कोषमा निरन्तर योगदान गर्दै आएका एकजना योगदानकर्ता सोमवार उपचारका लागि ट्रमा सेन्टर पुगे । उनी कोषले वेबसाइटमा राखेको जानकारीकै आधारमा ट्रमा सेन्टर पुगेका थिए । उनले ट्रमा सेन्टरमा औषधि उपचारबापत पाउने सुविधाबारे सोध्दा अस्पतालका कर्मचारीले त्यसबारे आफू अनभिज्ञ रहेको बताए ।
त्यसपछि उनले अस्पतालका मेडिकल रेकर्डर निरीक्षक तथा सूचना अधिकारी अर्जुनप्रसाद भेटुवाललाई भेटेर बुझे । भेटुवालले पनि ट्रमा सेन्टरले कोषसँग त्यस्तो सम्झौता नगरेकाले सुविधा दिन नसकिने बताएको ती योगदानकर्ताको भनाइ छ ।
उक्त घटनाबारे ट्रमा सेन्टरका मेडिकल रेकर्डर निरीक्षक भेटुवालसँग जानकारी माग्दा उनले आफूहरूले हालसम्म कोषसँग त्यस्तो सम्झौता नगरेको बताए । ‘हामीले अन्य विभिन्न निकायसँग यस्तो खालका सम्झौता गरेर उपचारमा सुविधा दिँदै आए पनि सामाजिक सुरक्षा कोषसँग सम्झौता भएको छैन । तर, कोषका योगदानकर्ता सेवा लिन आइरहन्छन् ।’ सेन्टरलाई कोषले यस विषयमा जानकारी नै नगराएको पनि भेटुवालले स्पष्ट पारे । ‘कोषको नियमअनुसार हामीसँग सम्झौता गर्न आएमा हामी सेवा प्रवाह गर्न तयार छौं । तर, सम्झौताविना हामीले कसरी सेवा दिने ?’ उनले प्रश्न गरे ।
सामाजिक सुरक्षा कोषले पनि ट्रमा सेन्टरसँग औपचारिक रूपमा सम्झौता नगरेको स्वीकार गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीले कोषले ट्रमासँग सम्झौता गरिनसकेका कारण कोही बिरामीले ट्रमा सेन्टरबाट उपचार गरेमा अस्पतालको बिलसहित कोषमा रकम भुक्तानीका लागि दाबी गर्न आउनुपर्ने बताए । बिरामी र उनका आफन्तले भने यस्तो प्रक्रिया झन्झटिलो भएकाले उपचार गर्ने ठाउँबाटै छूट पाउनुपर्ने माग गरेका छन् ।
सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा मातृत्व सुरक्षा सेवाअन्तर्गत ओपीडीमा २५ हजारसम्म र अस्पताल भर्ना भएर गरिने उपचारमा वार्षिक १ लाख रुपैयाँसम्मको उपचार खर्चमध्ये कोषबाट ८० प्रतिशत रकम भर्ना भएको अस्पतालमा सीधै भुक्तानी हुने र बाँकी २० प्रतिशत रकम स्वयम्ले बेर्होनुपर्ने उल्लेख गरेको छ । कोषमा हाल ३ लाख ७१ हजार योगदानकर्ता १७ हजार ४ सय रोजगारदाता सूचीकृत छन् ।