घाटामा रहेका यी ४ कम्पनीको दोस्रो बजारमा भने शेयर मूल्य उच्च



काठमाडौं,कात्तिक २३ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार अहिलेसम्म ४ कम्पनी घाटामा देखिएका छन् । कोही कम्पनी विगतदेखि नै घाटामा चलिरहेका थिए भने कोही कम्पनी पहिलोपटक घाटामा गएका हुन् । नोक्सानीमा रहेका यी कम्पनीको शेयर मूल्य भने उच्च देखिएको छ । 

निरन्तर घाटामा रहेका कम्पनीको शेयर महँगोमा खरीद गर्दा यसमा लगानीकर्ताहरू फस्नसक्ने विश्लेषकहरू बताउँछन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरण राम्रोसँग केलाएर मात्र शेयर बजारमा लगानी गर्नुपर्ने उनीहरूको सुझाव छ । 

नेप्से बुलिस ट्रेन्डमा हुँदा जस्तोसुकै कम्पनीको पनि शेयर मूल्य पनि उच्च हुन्छ । तर, नेप्से बियरिस ट्रेन्डमा हुँदा भने राम्रा नराम्रा सबै कम्पनीको मूल्य घटिरहेको हुन्छ । वित्तीय विवरण नहेरे शेयर मूल्य मात्रै हेरेर लगानी गर्दा लगानीकर्ता कसरी घाटामा जान्छन् भन्ने एउटा उदाहरण गोर्खाज फाइनान्स पनि हो । 

कम्पनीले ६ वर्षदेखि शेयरधनीलाईलाई लाभांश दिएको छैन । अन्तिम पटक आव २०७१÷७२ मा ७ प्रतिशत बोनस शेयर दिएको कम्पनीको शेयर मूल्य भने करीब १३ सय रूपैयाँ पुगेको थियो । 

यो कम्पनीको शेयरमूल्य २०७८ भदौ २ गते प्रतिकित्ता १ हजार २९९ रूपैयाँ रहेकोमा २०७९ कात्तिक २१ गते प्रतिकित्ता ५५९ रूपैयाँमा झरेको छ । यो १ वर्षको अवधिमा लगानीकर्ताले प्रतिकित्ता ७०० रूपैयाँभन्दा बढी गुमाएका छन् । तर, कम्पनीले लाभांश दिने कुनै ठेगान छैन । 

शेयर बजार भनेको कसैको लहैलहैमा लागेर लगानी गर्ने क्षेत्र होइन । शेयर बजारमा लागेर १० जनाले नाफा कमाएका छन् भने २० जनाले घाटा खाएका छन् । त्यसैले अहिले बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यी कम्पनीको वारेमा तपाईंले जान्नै पर्ने हुन्छ ।  किनकी पहिलो त्रैमासिक वित्तीय विवरणमा यी कम्पनी घाटामा देखिएका छन् । 

ग्रामीण विकास लघुवित्त 

पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ग्रामीण विकास लघुवित्त १ करोड १८ लाख रूपैयाँ बढी घाटामा देखिएको छ । यो कम्पनीले गत आवको पहिलो त्रैमासमा भने ९ करोड २० लाख रूपैयाँ नाफा कमाएको थियो । चालू आवमा कम्पनीले सम्भावित जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याउँदा नोक्सानीमा गएको वित्तीय प्रतिवेदनले देखाउँछ । 

कम्पनीले गत आवमा सम्भावित जोखिमबापत ३ करोड ८९ रूपैयाँ मात्र छुट्याएकोमा चालू आवमा १ अर्ब ३४ करोड रूपैयाँभन्दा बढी रकम छुट्याएको छ । सोही कारण सञ्चालन नाफा रू. १ अर्ब ३१ करोड ऋणात्मक भई खुद नोक्सानी १ करोड १८ लाख रूपैयाँ देखिएको हो ।

याे कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा उच्चतम हुँदा रू. १ हजार १३९ पुगेको थियो भने न्यूनतम हुँदा रू.५८५ सम्म झरको थियो । मंगलवार भने यो कम्पनीको शेयर मूल्य रू.६१७ दशमलव ५० कायम भएको छ । 

नारायणी डेभलपमेन्ट बैक

नारायणी डेभलपमेन्ट बैक यस कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.१ करोड ६७ लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमाससम्ममा पनि कम्पनीले रू. ९ लाख ११ हजार नोक्सानीमा थियो । यसरी हेर्दा यस कम्पनीको नोक्सानी बढेको देखिन्छ । चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेकाले नोक्सानी बढेको हो ।

यस कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा उच्चतम हुँदा रू. १ हजार ३१ सम्म पुगेको थियो भने न्यूनतम हुँदा रू. ३१७ सम्म झरेको थियो । मंगलवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ३९० दशमलव ८०  कायम भएको छ । 

ग्रीन डेभलपमेन्ट बैंक 

यस कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. १ करोड ७८ लाख नोक्सानीमा छ । यस कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. ६ लाख १६ हजार नाफामा थियो । चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेसँगै सञ्चालन नाफा रू. १ करोड ७८ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।

यस कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा उच्चतम हुँदा रू. ४५२ दशमलव ६० पुगेको थियो भने न्यूनतम हुँदा रू. १८२ सम्म झरेको थियो । यस कम्पनीको शेयर मूल्य मंगलवार रू.२३७ दशमलव ७० कायम भएको छ । 

घलेम्दी हाइड्रो

यस कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ३ करोड २७ लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड १५ लाखभन्दा बढी नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी कम र कुल खर्च बढी भएकाले कम्पनी खुद नोक्सानीमा गएको हो । 

यस कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा उच्चतम हुँदा रू. ४२० पुगेको थियो भने न्यूनतम हुँदा रू. १६४ दशमलव २० सम्म झरेको थियो । मंगलवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू १९० दशमलव १० कायम भएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्