टायल उद्योगमा रमेश कर्प र कजरियाको ४ अर्ब लगानी, नवलपरासीमा सन २०२३ सम्म उद्याेग सञ्चालन हुने



काठमाडौं,कात्तिक २२ । नेपालको व्यावसायिक घराना रमेश कर्प र भारतीय कम्पनी कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा नेपालमा टायल उद्योग स्थापना हुने भएको छ । दुवैको आधाआधा शेयर लगानी रहेको उद्योग २०२३ को अन्तिमसम्ममा सञ्चालन गर्ने लक्ष्य छ ।

सोमवार रमेश कर्पले आफ्नो वेबसाइटमा राखेको सूचनाअनुसार उक्त उद्योगमा ४०० करोड (४ अर्ब) रुपैयाँ लगानी हुने उल्लेख गरिएको छ । रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जालान र कजरिया सेरामिक्सका अध्यक्ष अशोक कजरियाले टायल तथा सेरामिक्स उत्पादनका लागि सम्झौता गरेका हुन् । सम्झौताअनुसार उक्त उद्योगबाट वार्षिक ८ लाख वर्गमीटर टायल र अन्य सेरामिक्स वस्तु उत्पादन गरिनेछ । नवलपरासीमा संयुक्त लगानीमा नेपालकै ठूलो टायल उद्योग सञ्चालन हुने बताइएको छ । नेपालको माग पूर्ति गर्नुका साथै भविष्यमा टायल तथा अन्य उत्पादन निर्यातको पनि लक्ष्य राखिएको रमेश कर्पको भनाइ छ । नेपालको कच्चापदार्थ उपयोग गरेर टायल उत्पादन गरिने पनि उल्लेख गरिएको छ । 

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा जालानले यो उद्योग मुलुकमा रोजगारी सृजनामा महत्त्वपूर्ण प्रोजेक्ट हुने दाबी गरे । उक्त प्लान्टबाट उत्पादित वस्तु प्रतिस्पर्धी मूल्यमै उपलब्ध हुने उनको भनाइ छ । आफूलाई विश्वको सातौं ठूलो कम्पनी दाबी गर्ने कजरियाका अध्यक्ष अशोक कजरियाले नेपाल महत्त्वपूर्ण बजार भएको बताए । २ दशकदेखि नेपालमा कम्पनीको उपस्थिति रहेको भन्दै उनले टायल उद्योगको स्थापना तथा संयुक्त लगानीले यसलाई थप बलियो बनाउने बताए । 

रमेश कर्पले ५० वर्षदेखि मुलुकका विविध क्षेत्रमा लगानी गर्दै आएको छ । सिमेन्ट, जलविद्युत्, खानी, रियल इस्टेटलगायत क्षेत्रमा लगानी गरेको रमेश कर्पले टायल उद्योगमा हात हालेको हो । यस्तै ३४ वर्षदेखि व्यवसायमा स्थापित कजरियाले भारतमा ८ ओटा प्लान्टबाट टायल र सेरामिक्स वस्तु उत्पादन गरिरहेको छ । नेपालमा विभिन्न मुलुकबाट ठूलो परिमाणमा टायल आयात हुँदै आएको छ । बढ्दो शहरीकरण तथा सुविधा सम्पन्न र आधुनिक घरमा बस्ने बढ्दो चलनले वर्षेनि टायल, मार्बल, ग्रेनाइटलगायत बाथरुमका सामानको खपत बढ्दै गएको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्