२० हजार यात्रुलाई निःशुल्क सेवा दिएपछि बिजुली बसको यन्त्रिक परीक्षण सफल, १६ हजार किलोमिटर गुडे
लुम्बिन,कात्तिक १६ । लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । एशियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि ५ बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको थियो ।
दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए ।
उनका अनुसार गत असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ यात्रुले निःशुल्क धम्म यात्रा बिजुली बसको सेवा लिएका थिए ।
६ रुटमा ५ बसमार्फत ५ सय २७ पटक बस सञ्चालन हुँदा १६ हजार ३ सय ८४ किलोमिटर यात्रा गरेको कोषले जानकारी दिएको छ ।
यान्त्रिक परीक्षण इकाई समितिका अनुसार लुम्बिनी–बेलहिया रुटमा सबैभन्दा बढी १ सय ६० पटक बस चल्दा ५ हजार ७ सय ८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए । लुम्बिनी–तिलौराकोट रुटमा १ सय ३१ पटक बस चल्दा ५ हजार ७२, लुम्बिनी–रामग्राम रुटमा ४८ पटक बस चल्दा २ हजार २ सय ७० तथा लुम्बिनी–बुटवलमा ४६ पटक बस चल्दा १ हजार ३ सय ४६ यात्रुले सेवा लिएको पौडेलले जानकारी दिए ।
बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि तयारी गरेको पनि जानकारी दिए ।
उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो ।