बागलुङमा कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व संकलन
बागलुङ,कात्तिक १३ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट चालू आर्थिक वर्षको पहिलो तीन महीनामा रू. १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका २ हजार ८ सय ५० चालकबाट गत साउन, भदौ र असोजमा मात्रै सो राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले जानकारी दिए ।
कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । सो अवधिमा ९ सय ७९ मोटरसाइकल चालकबाट रू. ६ लाख ३९ हजार पाँच सय राजस्व संकलन भएको छ । तीन सय ८५ कार र जीप चालकबाट रू. तीन लाख ८८ हजार, तीन सय ४९ ट्रक तथा टिपरबाट रू. २ लाख ४० हजार, चार सय ९३ ट्र्याक्टरबाट रू. ३ लाख ४२ हजार राजस्व संकलन गरिएको प्रहरी विवरण छ । त्यस्तै चार सय १९ बसबाट रू. २ लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी रू. १८ लाख ९७ हजार राजस्व संकलन गरिएको छ । चालू आर्थिक वर्षको तीन महीनाको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करीब रू. ८ लाख बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आफूहरूले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोे ट्राफिक प्रहरी प्रमुख केसीले बताए । ‘ट्राफिक सचेतनासँगै कारबाही हाम्रो अभियान हो,’ उनले भने, ‘अहिले यातयात व्यवस्था कार्यालयको परीक्षास्थलमै ट्राफिक सचेतना गरिएको छ ।’ उनका अनुसार ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई विशेष कारबाही गरिएको छ । नो पार्किङ, एकतर्फी पार्किङ, पार्किङ व्यवस्थापनसँगै दुर्घटना न्यूनीकरणमा आफूहरूको ध्यान रहेको उनले बताए ।
मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिलबुकबिना चलाउने, दु्रत गतिमा चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । चाडपर्वको समयमा मापसे परीक्षणलाई बढी प्राथमिकता दिइएको उनको भनाइ छ ।