सुस्ताउँदो अर्थतन्त्रको मारमा गुगल र माइक्रोसफ्ट, ‘डिजिटल विज्ञापनको लागि अशुभ संकेत’



सन फ्रान्सिस्को (अमेरिका),कात्तिक १०। ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको विक्रीमा उल्लेख्य कमी आएको छ । यसले विश्व अर्थतन्त्र मन्दीमा जाने भय थप बढाएको छ ।

सेप्टेम्बरसम्मको तीन महीनामा विक्री ६ प्रतिशतले मात्रै बढेर ६९ अर्ब डलरमा पुगेको गुगल र युट्युबको मातृ कम्पनी अल्फाबेटले बताएको छ । कम्पनीहरूले आफ्नो विज्ञापन खर्च घटाइरहँदा कम्पनीको आम्दानीमा उच्च कमी आएको हो । यो कोभिडको महामारी शुरु भएयता बाहेक कम्पनीको एक दशकयताकै सबैभन्दा कमजोर त्रैमासिक वृद्धि हो । 

आफूले बनाएको कम्प्युटर र अन्य प्रविधिको माग कमजोर बनेको माइक्रोसफ्टले पनि बताएको छ । गएको त्रैमासमा माइक्रोसफ्टले कूल ५० अर्ब १ करोड डलर बराबरको विक्री गरेको छ । यो गत त्रैमासको सोही अवधिको तुलनामा ११ प्रतिशत कम हो । विक्रीको यो आकार ५ वर्षयताकै सुस्त भएको बताइएको छ । महँगी अकासिएको अनि ब्याजदर बढिरहेको अवस्थामा विश्वभर उपभोक्ता र व्यवसायहरूले खर्च कटौती गरिरहँदा विश्वव्यापी आर्थिक मन्दीको भय बढेको छ ।

अमेरिकी डलर मजबुत हुँदा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको मारमा परेका छन् । एक डलरको लागि अन्यत्र पहिलोको भन्दा बढी स्थानीय मुद्रामा भुक्तानी गर्नुपर्ने अवस्था व्याप्त हुँदा विदेशमा यी कम्पनीहरूका सामान महँगो बनेर विक्री प्रभावित भएको छ । सेप्टेम्बरसम्मको तीन महीनामा अल्फाबेटको विक्री करीब ३० प्रतिशतले घटेर १३ अर्ब ९० करोड डलरमा झरेको छ । युट्युबले आफ्नो आम्दानी सार्वजनिक गर्न शुरु गरेयता समीक्षा अवधिमा यसको विज्ञापनबाट हुने आम्दानी घटेको छ ।

विज्ञापन बजारमा प्रतिस्पर्धा चर्किँदै गर्दा लगातार पाँच वर्षदेखि युट्युबको आम्दानी वृद्धि घटिरहेको छ । अल्फाबेटले आफ्नो ध्यान तेज बनाउने अनि आर्थिक वातावरणप्रति उत्तरदायी भइरहेको अल्फाबेटको हाकिम सुन्दर पिचाईले भने । गुगल लड्खडाउनु भनेको डिजिटल विज्ञापनको लागि मुलतः अशुभ संकेत भएको इन्साइडर इन्टेलिजेन्समा प्रमुख विश्लेषक इभलिन मिचेलले भने ।

पहिला पहिला फेसबुक र स्न्यापच्याट जस्ता सामाजिक सञ्जालको तुलनामा गुगलको मुख्य वेबसाइट विज्ञापन खर्चमा आउने मन्दीप्रति थप उत्थानशील हुने गरेको उनले बताए । गुगलको लागि निराशाजनक त्रैमासले बजारको अवस्था थप खस्कियो भने झन कठिन समय आउन सक्नेतर्फ औंल्याएको उनको भनाइ छ । व्यवसायिक ग्राहकहरूले खर्च घटाइरहेकोले पीसी र क्लाउड कम्प्युटिङ प्रविधिको माग निरन्तर खस्कने अपेक्षा आफूले गरेको माइक्रोसफ्टले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्