नेपालीको भान्सा झनै महंगियो, कुन खाद्य वस्तुको मूल्य कति बढ्यो ?
काठमाडौं,कात्तिक ४ । चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ ।
२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ भदौ महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।