बजारमा ५०० भन्दा बढी मूल्य पर्ने लुगा मात्र ३० रुपैयाँमा !



काठमाडौं,कात्तिक २ । मंगलवार बनस्थलिको सुखावती स्टोरमा लुगा किन्दै गरेका सुनिल गुप्ता हर्षित देखिन्थे । उनी हर्षित हुनुको कारण थियो बजारमा ५०० भन्दा माथि मूल्य पर्ने टि-सर्ट मात्र ३० रुपैयाँमै किन्न पाउनु । 

सुनिल जस्तै अन्य उपभोक्ताको पनि बाक्लै उपस्थिती रहेको स्टोरमा अन्तरराष्ट्रिय संस्था आइसेक नेपालले पुनः प्रयोग गर्न मिल्ने लुगा सस्तो मूल्यमा विक्री वितरण गरिरहेको थियो । सामान्य बजारमा ५०० देखि ३/४ हजारसम्म पर्ने लुगा कमजोर आर्थिक अवस्था भएकाहरूका लागि संस्थाले न्युनतम २० रुपैयाँ देखि अधिकतम ४०० रुपैयाँसम्ममा विक्री वितरण गरिरहेको छ। 

आइसेकले गत मंगलवारबाट पुनः प्रयोग गर्न मिल्ने लुगाकपडा संकलन गरेर विक्री गर्न थालेको हो । संस्थाले प्रयोग नै नभएका, कुनै स्टोरमा लामो समयसम्म स्टक रहेका तथा सेकेन्डह्यान्ड ८०० भन्दा बढी कपडा संकलन गर्ने उद्देश्यले ‘लेट योर क्लोथ फाइन्ड द न्यू होम’ अभियान चलाएको थियो । 

यसरी संकलित कपडा आज मंगलवार देखि सुखावती स्टोरबाट विक्रीमा राखिएपछि त्यहाँ राजधानीका विभिन्न स्थानबाट सस्तो लुगा किन्नेको भीड लागेको थियो । यसरी आउनेमा अधिकाशं न्यून आय भएका, कवाडीको काम गर्ने तथा स्थानीय भूमिहिन समुदायका मानिस रहेका थिए। 

सुखावती स्टोरका सञ्चालकका अनुसार संकलित भएर आएका कपडालाई बच्चा, महिला र पुरूषका कपडामा छुट्याईने गरेको तथा सामान्य ड्यामेज भएका कपडालाई पुन डिजाईन गरि अर्को कपडा तयार पार्ने गरिएको छ । कपडा विक्रीबाट संकलित रकम आर्थिकरूपमा विपन्न तथा समस्यामा परेका बालबालिकालाई वितरण गर्ने संस्थाको योजना छ । 

नेपालसहित विश्वका १२० भन्दा बढी देशमा आइसेकको सञ्जाल छ । नेपालमा दर्ता रहेको यो संस्थामा १ हजारभन्दा बढी विदेशी स्वंमसेवक छन् भने ४ हजारभन्दा बढी नेपाली युवा आवद्ध छन् ।

संस्थाले युवाहरूका लागि क्रस–संस्कृति आदानप्रदान र तिनीहरूका योजनाको छनोट तथा सहजीकरण गर्दै विभिन्न देशहरूमा र उनीहरूको विश्वव्यापी स्वयंसेवा वा विभिन्न उत्पादनहरूमा आधारित इन्टर्नशीपहरू गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्