कमल थापा एमालेको अध्यक्ष बन्न सक्छ : बिरोध खतिवडा



मकवानपुर,कात्तिक १ । मकवानपुरको निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिरोध खतिवडाले कुनै दिन कमल थापा नेकपा एमालेको अध्यक्ष बनेमा आश्चर्य नहुने बताएका छन ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले भने – ‘मेरो मुख चै अलि खराब पनि छ, परिस्थिति यसरी नै गयो भने केपी ओलीको अवसानपछि कमल थापा पार्टीको अध्यक्ष बन्यो भने आश्चर्य नमान्नुहोला । ‘

खतिवडाले एकडेढबर्ष अघि देखि नै विभिन्न कार्यक्रम तथा अन्तरवार्ताहरुमा ओली र राप्रपाले मिलेर चुनाव लड्ने उदघोष गर्दै आएका थिए । यदि त्यसो नभए आफ्नो एउटा कान काटिदिने भन्दै उनले ब्यंग्यसमेत गर्दै आएका थिए । तर उनले भनेजस्तै आसन्न निर्वाचनका लागि राप्रपा र राप्रपा नेपालसँग एमालेले तालमेल गरेको छ । खतिवडाले आफुले बोलेको कुरा फरक नपरेका बताउँदै एमालेको चरित्र दक्षिणपन्थी भासमा गइसकेको बताए । 

एमालेले बनाएको लोकप्रिय चुनाव चिन्ह सुर्य नै कमल थापालाई सुम्पिएको खतिवडाले बताए । अहिले जनताको बहुदलीय जनवाद नै कमल थापाले बोकेर हिडेको भन्दै उनले कटाक्ष गरे । 

बिगतमा गण्तन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा कुनै योगदान नभएकाहरु नै एमालेसहितको गठबन्धन रहेको उनको भनाई छ । ‘बहुदल ल्याउन, गणतन्त्र स्थापना गर्न, राजतन्त्र परास्त गर्न आन्देलनमा उत्रिएका पार्टीहरु हामी गठबन्धनमा छौ, उतापट्टि राजा ल्याउनुपर्छ भन्न, देश टुक्राउनुपर्छ भन्ने, गणतन्त्र मास्नपर्छ भन्ने पार्टीहरु छन’ – उनले भने । यसर्थ अहिलेको सत्ता गठबन्धनप्रति छाती फुलाएर गर्वका साथ लागिपर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । 

खतिवडा सत्ता गठबन्धनको तर्फबाट मकवानपुर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन, उनीसँग एमालेका महेश बर्तौलाले प्रतिस्पर्धा गर्दैछन । मकवानपुर १ मा एमालेको चुनाव चिन्ह लिएर कमल थापा उठेका छन । उनीसँग नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले प्रतिस्पर्धा गर्दैछिन । 

प्रतिक्रिया दिनुहोस्