तिहारमा २५ करोडको झिलिमिली बत्ती आयात हुँदा १० प्रतिशतले मूल्य बढ्ने



काठमाडौं,कात्तिक १ । बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतले बढेको नेपाल विद्युतीय व्यावसायी महासंघले बताएको छ ।

गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको हो ।महासंघका अनुसार अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर हो ।

महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए। तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको उनले बताए ।

पोखरेलले गत वर्ष नेपालमा करिव ४० करोडको विद्युतीय बत्ती आयात भएको र यो वर्ष करिव ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताए ।

कोभिड महामारी अघिका तिहारको समयमा नेपालमा करिब ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए।

चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइनपुगेको उनले बताए । नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ ।

जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्