बाग्लुङमा बिजुलीको पहुँचसँगै संकटमा मादल व्यवसाय
ढोरपाटन,कात्तिक १ । बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए । अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय संकटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरूबाट सिकेको शीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरू विदेश पलायन भए भने छोरीहरूले बिहे गरिसके ।
उनले आफूसँग भएको शीप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गरे । ‘मलाई पाँच/सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल विक्री गरेरै नौ जनाको परिवार चलाएको थिएँ, छोराछोरी पढाएको थिएँ, अहिले दुई जनाको पेट पाल्न पनि अरू काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘मादल विक्री हुँदैन, विक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडें, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।’
पहिले बाह्रै महीना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल विक्री नै नहुने उनको भनाइ छ । उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याई हुने गरेको स्मरण गर्दै अहिले ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउँछन् ।
‘मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महीना कम्तीमा पनि १० वटा मादल विक्री हुन्थ्यो, मलाई मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुञ्जेल मादल बनाइरहन्थें, वार्षिक झण्डै रू. ५ लाख कमाइ गर्थें’, उनले भने, ‘अहिले मादल किन्न बेला मौकामा एक/दुई जना मान्छे आउँछन्, उनीहरूलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रू. १२ सयदेखि ५ हजारसम्ममा बेच्ने गर्थें ।’
दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूलाठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । ‘तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूलाठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्,’ उनले थपे, ‘कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ ।’
निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै विक्री हुन्छ । वार्षिक आठ सयभन्दा बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि विक्री गर्न नसकेको बताए । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए ।
‘चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि विक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महीना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, विक्री नै हुँदैन’, नेपालीले भने, ‘वर्षभरि मादल बनायो, विक्री हुन्न, अब अरू नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।’
नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल विक्रीमा कमी आएको बताए । उनले मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेको बताउँछन् ।
‘आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्त्व निकै थियो । मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे । गाउँमा बिजुली बलेपछि मादलको माग घट्यो’, उनले भने, ‘अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।’
गाउँगाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्था आयो । गाउँमा बिजुली पुगेपछि विद्युतीय सामग्रीको माग बढेको व्यवसायी बताउँछन् । आर्थिक अभियानबाट