नवौं राष्ट्रिय खेलकुदले बागलुङका होटेल भरिभराउ
बागलुङ,कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू बागलुङमा भइरहेका कारण यहाँका होटेल भरिभराउ बनेका छन् । गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा चलिरहेको प्रतियोगिता अन्तर्गत बागलुङमा आईटिएफ तेक्वान्दो चलिरहेको छ । आईटिएफ तेक्वान्दोमा सहभागी खेलाडी, प्रशिक्षक, रेफ्री र दर्शकको उपस्थितिले बागलुङ बजारका होटेल भरिभराउ बनेका हुन् ।
बागलुङमा भइरहेको आईटिएफ तेक्वान्दो प्रतियोगिता शनिवारदेखि शुरू भएको हो । सात प्रदेश र तीन विभागीय टीम (एपीएफ, नेपाल पुलिस क्लब र नेपाल आर्मी) गरी १० टीमका खेलाडी, प्रशिक्षकहरू बागलुङ आइपुगेका छन् । बागलुङ नगरपालिकाका प्रमुख एवं आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सचिव राजु खड्काले खेलकुदका कारण सदरमुकामको अर्थतन्त्र चलायमान बनेको दाबी गरे ।
उनले बागलुङका ९ ओटा होटेलमा खेलाडी, प्रशिक्षक एवं अफिसियलहरूलाई राखिएको बताए । प्रतियोगिताका लागि बागलुङमा आएका सबैलाई सुविधासम्पन्न होटेलहरूमा राखिएको उनको भनाइ थियो ।
खड्काले तीन विभागीय टिमका खेलाडीहरू आन्तरिक रूपमा विभाग मातहतकै कार्यालयभित्रै बसेको र अन्य सात प्रदेशका खेलाडीहरूले होटेल भरिभराउ बनेको बताए ।
होटेलको सेवासुविधा अनुसार रोजेर बसेका खेलाडीहरूले दैनिक ८ सय ५० देखि १ हजार ४ सय रुपैयाँसम्म तिरिरहेका छन् । प्रतियोगिताका कारण अहिले बजारका होटेलहरू भरिभराउ भएको होटेल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । उनले जिल्लामा भइरहेको राष्ट्रियस्तरको खेल प्रतियोगिताले होटेल व्यवसायीसहित जिल्लाका अन्य व्यवसायीहरूलाई पनि फाइदा पुगेको दाबी गरे ।
राजभण्डारीले जिल्ला आएका पर्यटकहरूको आरामदायी बसाइ र स्वादिष्ट खानाका लागि होटेल व्यवसायीहरूले सकेसम्म राम्रो व्यवस्था गरिएको बताए । जिल्लामा आएका खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई पर्यटकीय स्थानमा जानका लागि बसको समेत व्यवस्था गरिएको छ । उपप्रमुख खड्काले धवलागिरि गण्डकी तथा बागलुङ भगवती यातायात प्रालिसँग समन्वय गरेर प्रतियोगिताका लागि जिल्लामा आएकाहरूलाई सुलभ मूल्यमा पर्यटकीय स्थान तथा होटेलदेखि खेलस्थानसम्म लैजाने व्यवस्था गरिएको बताए ।
बागलुङ बजार नजिकै रहेका बागलुङकालिका भगवती मन्दिर, पञ्चकोट धाम, कुँडुलेको शालिग्राम संग्राहलय, नेपालकै लामो झोलुंगे पुलहरू खेलाडी, प्रशिक्षक, दर्शक लगायतको रोजाइमा परिरहेका छन् ।