यस वर्षको तिहारमा ४० करोडको भाइमसला, वस्तुको मूल्य २० प्रतिशतसम्म वृद्धि
काठमाडौं,असोज ३१ । यस वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला आयात हुने भएको छ । भाइमसलामा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । नेपाल खुद्रा व्यापार संघका अनुसार यस वर्षको तिहारमा ४० करोड रुपैयाँसम्मको भाईमसला आयत हुने भएको हो ।
भाइमसलामा काजु, किसमिस, नरिवल, छोकडा, अञ्जिर, ल्वाङ, सुपारी, सुकुमेल, पेस्ता, बदाम, अलैँची, खोरपानी, ओखर, दालचिनी र मिस्री आदि मिसाइन्छ । यस्तै, विभिन्न प्रकारका चकलेट र बिस्कुट समेत हुने गर्छन् ।
आयातकर्ताले तिहारलाई नै लक्षित गरेर सबै प्रकारका वस्तु आयातमा करिब ४० करोड रुपैयाँ बराबर खर्च गर्ने गरेको संघको भनाइ छ ।
सबै वस्तु आयात गर्नुपर्ने भएकाले गत वर्षको तुलनामा मूल्य पनि वृद्धि हुने संघको भनाईछ । संघका अनुसार यस वर्ष यी वस्तुको मूल्य कम्तिमा २० प्रतिशतसम्म बढेको हो ।
तिहारमा दिदिबहीनीले दाजुभाइको दीर्घायूको कामना गर्दै यमराजको पूजा गर्ने गर्छन् । सोहीकारण, यो पर्वमा दिदीबहीनीले दाजुभाइलाई भाइमसला उपहार दिने गर्छन् ।