विश्वव्यापी आर्थिक मन्दी : एकैदिन ३ प्रतिशतभन्दा धेरैले घट्यो कच्चा तेलको भाउ



एजेन्सी,असोज ३० । विश्व बजारमा कच्चा तेलको भाउ ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

विश्व अर्थतन्त्र मन्दीमा जाने खतरा र तेलको माग कमजोर हुने चिन्ताबीच कच्चा तेलको भाउ दबाबमा आएको बताइएको छ ।

अहिले तेलको मूल्यमा आएको कमी प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरुको समूह (ओपेक) र समूह बाहिरका प्रमुख तेल उत्पादकहरुले तेलको उत्पादन कटौती गर्ने निर्णय गरेपछि तेलको भाउमा भएको वृद्धि भन्दा धेरै हो । 

हप्ताको अन्तिम दिनको कारोबारमा लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ ३ दशमलव १ प्रतिशतले घटेर प्रतिब्यारेल ९१ डलर ६३ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा २ डलर ९४ सेन्ट कम हो । 

सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि प्रतिब्यारेल ३ दशमलव ९ प्रतिशतले घटेर ८५ डलर ६१ सेन्टमा आएको छ । यो चाँहि अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा ३ डलर ५ सेन्ट कम हो । 

गएको हप्ताभर ब्रेन्ट क्रुड र डब्ल्यूटीआई दुबैको भाउमा तीव्र उतारचढाव आयो । हप्ताभरको कारोबारमा ब्रेन्टको भाउ ६ दशमलव ४ प्रतिशतले घट्दा डब्ल्यूटीआईको भाउमा पनि ७ दशमलव ६ प्रतिशतको कमी आयो । 

गएको महीना अमेरिकाको कोर मुद्रास्फीतिमा ४० वर्षयताकै उच्च वार्षिक वृद्धि भएको तथ्यांक सार्वजनिक भएपछि आगामी नीतिगत बैठकमा फेडरल रिजर्भले तीव्र दरमा ब्याजदर बढाउने अनुमान बलियो बनेको छ भने विश्व अर्थतन्त्र मन्दीमा जाने जोखिम झनै चुलिएको छ । 

नोभेम्बर २ मा सकिने नीतिगत बैठकमा फेडले भावी ब्याजदर वृद्धिको निर्णय गर्ने अपेक्षा गरिएको छ । अमेरिकी उपभोक्ता मनोबल सुधारिएको भएपनि महँगी घट्ने आशा भने झनै खराब बनेको हालै भएको एउटा सर्वेक्षणले देखाएको छ । उपभोक्ता मनोबलमा भएको वृद्धि अहिलेको लागि खराब कुरा हो ।  यस्तोमा फेडले चर्को ब्याजदर वृद्धि गरेर उपभोक्ता मनोबल घटाउने र अर्थतन्त्रलाई थप सुस्त बनाउनु जरुरी भएको सिकागोस्थित प्राइस फयूचर्स ग्रुपका एक विश्लेषक फिल फ्लिनले भनेका छन् । उपभोक्ता मनोबल बढेको खबरले अमेरिकी डलर बलियो बन्दा पनि तेल बजार दबाबमा आएको हो । 

शुक्रवार अमेरिकी डलरको भाउ शून्य दशमलव ८ प्रतिशतले बढेको थियो । डलर बलियो बन्दा गैर डलरबाहकका लागि डलरमा किनबेच हुने तेल महँगो बन्दा पनि बजारमा दबाब बढेको हो ।

चीनमा कोभिडको संक्रमण बल्झिएको खबरसँगै कोभिड नियन्त्रण गर्न आर्थिक तथा सामाजिक गतिविधिमा कडाई बढाइने र चीनको तेल माग घट्ने चिन्ताले पनि तेलको भाउमा दबाब सृजना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्