विदेशी अस्थायी कामदारको सुरक्षाका लागि क्यानडाले गर्याे कानून संशाेधनकाे घोषणा
ओट्टावा (क्यानडा),असोज २९। क्यानडाले देशभित्र काम गरेर बसिरहेका विदेशी अस्थायी कामदारको सुरक्षाका लागि नयाँ उपायहरूको घोषणा गरेको छ । त्यहाँको सरकारले अस्थायी विदेशी कामदार कार्यक्रम (टीएफडब्ल्यूपी) र अन्तरराष्ट्रिय गतिशिलता कार्यक्रम (आईएमपी)सम्बन्धी आवश्यकता तथा शर्तहरूलाई पारदर्शी र स्पष्ट बनाउने नियमन संशाेधनको घोषणा गरेको हाे ।
आप्रवासी शरणार्थी र नागरिकता क्यानडा (आईआरसीसी) र रोजगार तथा सामाजिक विकास क्यानडा (ईएसडीसी)ले मिलेर अध्यागन र शरणार्थी सुरक्षण नियमनमा १३ ओटा संशाेधनको घोषणा गरेका छन् । विदेशी कामदारहरूको सुरक्षा व्यवस्था बलियो बनाउन र टीएफडब्ल्यूपीको अभिवृद्धिका लागि सो पहल गरिएको हो ।
क्यानडामा विदेशी अस्थायी कामदारहरू समेत सबै कामदारहरूको अधिकार कानूनले सुरक्षित गरिने एक विज्ञप्तिमा त्यहाँका अध्यागमन मन्त्री सिन फ्रेजरले बनेका छन् । नयाँ नियमन अनुसार रोजगारदाताहरूले अस्थायी विदेशी कामदारहरूलाई क्यानडामा उनीहरूको अधिकारबारे सबै जानकारी दिनु पर्नेछ ।
कम्पनी वा रोजगारदाताविरुद्ध ऊजुरी दिने कामदारविरुद्ध रोजगारदाताले गर्ने हिंसा वा प्रतिशोधमा प्रतिबन्ध लगाइएको छ । रोजगारदाताहरूले कर्मचारीको भर्ना शुल्क (तलब) परिवर्तन गर्न पाउने छैनन् । विज्ञप्ति अनुसार नयाँ नियमनले अस्थायी विदेशी कामदारको अझै राम्रोसँग सुरक्षा गर्नेछ र क्यानडा बसाईको क्रममा उनीहरूमाथि गलत वा दुर्व्यवहार रोक्न मद्दत गर्नेछ ।
क्यानडेली रोजगारदाताहरूले स्वास्थ्य हेरचाह सेवामा उचित पहुँच दिनु पर्नेछ भने आवश्यक परेको समयमा स्वास्थ्य बीमा पनि दिनु पर्नेछ । रोजगारदाताले नयाँ नियमको पालना नगरेर विदेशी कामदारको स्वास्थ्य वा सुरक्षा जोखिम उत्पन्न गरेका आशंका गरिएमा रोजगारदाताको श्रम बजार प्रभाव मूल्यांकनको प्रक्रिया रोक्का गरिनेछ ।
विदेशी अस्थायी कामदारहरूले पनि क्यानडेली नागरिक वा स्थायी बासिन्दा सरहकै अधिकार पाउने बताइएको छ । श्रम अभाव कम गर्न क्यानडाले हालै मात्रै विदेशी विद्यार्थीहरूले काम गर्ने समय (घन्टा)मा लगाएको सीमा हटाएको थियो । फूल टाइम अध्ययन गरिरहेका विदेशी विद्यार्थीका लागि नोभेम्बर १५ देखि लागू हुने गरी हरेक हप्ता २० घन्टा मात्र काम गर्न पाउने सीमा हटाएको थियो ।
नयाँ नियम आगामी वर्षको अन्त्यसम्म लागू हुनेछ । पछिल्लो समय श्रम आपूर्तिका लागि विदेशी विद्यार्थीलगायत अस्थायी बासिन्दाहरूप्रति क्यानडाको निर्भरता बढिरहेको छ । पीआरको खोजीमा अध्ययनका लागि विदेश जाने नेपालीहरूमाझ पछिल्लो समय क्यानडाप्रति रुचि बढिरहेको छ ।