विदेशिँदै गरेका युवाहरुको प्रश्न सामना गर्न म राजनीतिमा होमिएको हुँ: विनोद चौधरी
काठमाडौं,असोज २८ । उद्योगी तथा व्यवसायी विनोद चौधरीले मुलुकको आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जनाका लागि आफू औपचारिक रुपमै राजनीतिमा होमिएको बताएका छन् ।
शुक्रबार राजधानीमा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था दी एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (एक्यान)द्वारा आयोजित दीगो आर्थिक विकास विषयक सम्मेलन कार्यक्रममा बोल्दै व्यवसायी चौधरीले प्रत्यक्ष रुपमै आफू राजनीतिमा होमिनुको कारण प्रष्ट्याएका हुन् ।
लाखौँ बेरोजगार युवाहरुलाई रोजगार दिलाई मुलुकको गरिबी निवारणमा सहजता ल्याउनका लागि आफू राजनीतिमा हुमिनु परेको उनको भनाइ थियो । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित नै छु । पैसाका लागि राजनीति गर्नुपरेको होइन र गर्दिन पनि । निजी क्षेत्रबाटै छ हजार भन्दा माथिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छु आखिर किन राजनीतिमा होमिए ?’ व्यवसायी चौधरीले भने,‘अरु देशमा विकास निर्माण तथा सुशासनमा छुट्याइएको बजेट पुग्दैन । तर हाम्रो यस्तो देश छ जहाँ छुट्याएको, भएको बजेट पनि खर्च गर्न सक्दैनौं । आखिर किन ?’
‘५० ओै लाख युवा कि त गोरखपुर हुदै कि त त्रिभुवन विमानस्थल हुँदै रोजीरोटीका लागि बाहिर गइरहेका छन् । ती युवाहरुका लागि मैले पनि केही गर्न सकेको छैन । मौन रुपमा ती युवाहरुले मलाई पनि प्रश्न गरिरहेका छन् । हो, ती युवाहरुको प्रश्नको सामना गर्न म राजनीतिमा होमिएको हुँ’ चौधरीले भने ।