भारतमा विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो, झण्डै ८ अर्ब रुपैयाँ खुद आम्दानी



काठमाडौं,असोज २६ । नेपालबाट भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्री शुरु गरेको थियो । त्यसपछि  मंगलवारसम्म अर्थात २५ असोजसम्ममा  १ अर्ब ३० लाख युनिट विद्युत् भारत निर्यात भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उनले भने, ‘निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।’

शुरुमा दुईओटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा विक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिश्पर्धी दरमा विक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत विक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् निर्यातबाट करीब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट  ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्