खानेपानीमा ठग्नेलाई कारबाही गर्ने तयारी, बोत्तलको १६ र जारको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने
काठमाडौं,असोज २५ । सरकारले १ लिटरको बोतलमा भरिएका खाने पानीलाई १६ रुपैयाँभन्दा महँगो मूल्यमा बेच्न नपाइने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाभित्र १६ र उपत्यका बाहिर २० रुपैयाँभन्दा महँगोमा पानी बेच्न नपाइने गरी बाणिज्य विभागले मूल्य निर्धारण गरेको हो । अहिले काठमाडौंमा पसलैपिच्छे भिन्दाभिन्दै भाउ गरेर एक बोतल पानी १५ देखि ३० रुपैयाँसम्म बेचिरहेका छन् । विशेष शुद्धिकरण र प्याकेजिङ गरिएका महँगा ब्राण्डेड पानीको मूल्य भने यसमा समावेश छैनन् । यो मूल्य हामीले हरेक पसलमा किनेर पिउन पाइने साधारण बोतलको पानीका लागि हो ।
त्यस्तै २० लिटरको जारमा भरिएको पानीको भाउ बढीमा ४७ रुपैयाँसम्ममात्रै लिन पाइने नियम बनाइएको छ । उपत्यका बाहिर १ जार पानीको बढीमा ६० रुपैयाँसम्म लिन पाइने भनिएको छ । अहिले उपत्यकाभित्रै ठाउँअनुसार ३० देखि ६५ रुपैयाँसम्ममा पानी विक्रि भइरहेको व्यवसायी नै बताउँछन् । त्यतिमात्रै होइन, २० लिटरको जार भनेर १८–१९ लिटरमात्रै अट्ने जार बनाउने गरेको गुनासो आउन थालेपछि विभागले यसमा पनि ध्यान दिने भनेको छ । पछिल्ला केही वर्षयता जार र बोतलको आकार घटाएर उद्योगीले ठग्ने गरेको गुनासाहरु आउन थालेको विभागका अधिकारीले बताए ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीहरुलाई बोलाएरै तोकिएभन्दा धेरै मूल्य नलिन निर्देशन दिएको छ । विभागले तोकिएभन्दा बढी मूल्य असुलेको पाएको भनेर अब त्यसो गरे कारबाही गर्ने भनेको छ । विभागले गत सोमबार पानी उत्पादक तथा बिक्रेताहरुलाई बोलाएर खानेपानीको बिक्री वितरणमा मनलाग्दी नगर्न भनेको हो ।
पानीको गुणस्तर र जारको गुणस्तर तथा मापदण्डका विषयमा विभागले विशेष अनुगमन सुरु गर्ने तयारी थालेको बताएको छ । विभागका महानिर्देशक महेश भट्टराईले पानीको मूल्य र गुणस्तरको विषयमा व्यावसायीलाई सजग गराएको बताए । यसअघि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लामो अध्ययन पश्चात् पानीको मूल्य निर्धारण गरेको थियो । उक्त मूल्य कार्यान्वयन गराउन अहिले विभागले अग्रसरता देखाएको हो ।