आठ ट्रक सुपारी नियन्त्रण प्रकरण : प्रहरीको नियत खराब
विराटनगर,असोज २५ । भारतीय भन्सारले जाँचपास गरी नेपाली बाटो हुँदै भारतको भीमनगर नाकाबाट लैजान लागेको सुपारी प्रहरीले दु:ख दिने नियतले नियन्त्रणमा लिएको पुष्टि भएको छ ।
अदालतमा रहेको मुद्दा फिर्ता भई भन्सार विभागले ‘रिरूट भएर जान दिनू’ भन्ने आदेश दिएपछि असोज १३ गते ८ करोड ६३ लाख ८१ हजार मूल्यको २ लाख १९ हजार ५९६ किलो (आठ ट्रक) सुपारी निकासी भएको हो । मोरङ प्रहरीले जोगवनी भन्सारबाट नेपाल प्रवेश गरेको सुपारी विराटनगरको रानीबाट साउन ५ गते नियन्त्रणमा लिएर साउन ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।
राजस्व अनुसन्धान कार्यालय इहटरीका प्रमुख तीर्थराज खनालका अनुसार अदालतबाट मुद्दा फिर्ता भएको कागजात, भन्सारले पठाएको कागजात र अनुसन्धानको रायसहित विभागमा पत्राचार गरेपछि विभागले ‘रिरूट हुन दिनू’ भन्ने लिखित आदेश दिएको र आठ ट्रक सुपारी छाडिएको हो ।
खनालले भने, ‘भारतीय भन्सारले जाँचपास गरेर सील गरिसकेको सुपारी खोलेर अनुसन्धान गर्ने अधिकार नभएको कारण बाहिरी प्रक्रियामा कुनै त्रुटि छ कि भनेर मात्र अनुसन्धान गर्यौं र पछि विभागले रिरूट हुन दिनू भन्ने आदेश दिएकाले छाडिएको हो ।’
झापा उद्योग वाणिज्य संघले जारी गरेको उत्पत्तिको प्रमाणपत्रका आधारमा झापामा फलेको सुपारी आठओटा भारतीय ट्रकमा लोड गरी विराटनगर भन्सारबाट निकासी भई भारतीय भन्सार जोगवनीबाट समेत जाँचपास गरी सील लागेको थियो । उक्त सुपारी भारतको मिरगञ्जमा पुल भासिएको कारण सुनसरीको भण्टाबारी हुँदै भारतको भीमनगर नाकाबाट निकासीका लागि रिरूट गरिएको थियो ।
सुपारी निर्यातकर्ता विराटनगर–९ को मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले १ हप्ताअगाडि उत्प्रेषण परमादेश माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उनले रिट फिर्ता लिएपछि विभागले छाड्ने अनुमति दिएको हो ।
दुई महीनादेखि राजस्व अनुसन्धान कार्यालय परिसरमा रहेका आठओटा ट्रकको भाडामात्रै २५ लाख भारतीय रुपयाभन्दा बढी तिर्नुपरेको निकासीकर्ता घिमिरेले बताए ।
भारतीय भन्सारले जाँचपास गरेको सुपारी मिरगञ्जको पुल भासिएको कारण भारतीय भन्सारबाट पुन: नेपाल फर्केर सुनसरीको भण्टाबारीबाट भीमनगर नाका हुँदै लैजान रिरूट गरिएको थियो । तर, प्रहरीले भन्सारको कागजात नभएको भन्दै सबै ट्रक नियन्त्रणमा लिई ३ दिन अनुसन्धानको नाममा इलाका प्रहरी कार्यालय रानीमा राखेको थियो । सबै कागजात पेश गरेपछि पनि प्रहरीले सुपारी नछाडी राजस्व अनुसन्धानलाई बुझाएको थियो ।
सबै कागजात र प्रक्रिया पूरा भएर पनि अनुसन्धानको नाममा नियन्त्रणमा लिइएको आठ ट्रक सुपारीसँगै जाँचपासका लागि विराटनगर भन्सार पुगेको चार ट्रक सुपारी भने अहिले भन्सारको गोदाममा थन्किएको छ । व्यवसायीले पहिले आठ ट्रक सुपारीको निकासी गरेपछि मात्रै नयाँको निकासी प्रक्रिया थाल्ने भनेर विराटनगर भन्सारको गोदाममै राखेका हुन् । भन्सारका प्रवक्ता रामचन्द्र ढुंगानाले निकासीका लागि चार ट्रक सुपारी भन्सारको गोदाममा आइपुगेको बताए । आर्थिक अभियानबाट