भोजपुरबाट मुख्यमन्त्री राईको उम्मेदवारी दर्ता



भोजपुर,असोज २३ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आइतबार उम्मेदवारी दर्ता गराएका छन्  । उनले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकेबमोजिम मुख्यमन्त्री राईले आइतबार दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गराएका छन्  । उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गराएका हुन्  । मुख्यमन्त्री राई उक्त पार्टीको सचिव पनि हुन् । भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गराएका छन्  ।

बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्ता गर्ने क्रममा मुख्यमन्त्री राईले  प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई नेपाली जनताले मंसिर ४ गते अनुमोदन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्