विश्व बैंकको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धि : यो वर्ष ५.१, अर्को वर्ष ४.९ प्रतिशत



काठमाडौं,असोज २३ । विश्व बैंकले नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष (आव) २०७९/८० मा ५ दशमलव १ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । आगामी आवमा भने अर्थतन्त्रको विस्तार ४ दशमलव ९ प्रतिशतमा खुम्चिने उसको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत निर्धारण गरेको छ ।

विश्व बैंकको पछिल्लो अपडेटमा मौद्रिक नीतिको सामान्यीकरण, महामारीका बेला दिइएको मौद्रिक सहुलियतको अन्त्य र अभैm पनि तुलनात्मक रूपमा वस्तुको उच्च मूल्यको परिणामस्वरूप नेपाली अर्थतन्त्रले उक्त दरको आर्थिक प्रगति प्राप्त गर्ने उल्लेख छ ।

पर्यटन क्षेत्रमा आउने सुधारले नेपालको सेवा क्षेत्रलाई सहयोग गर्ने र जलविद्युत् उत्पादनमा हुने वृद्धिले औद्योगिक क्षेत्रको वृद्धिदर पनि बलियो हुने विश्व बैंकको प्रक्षेपण छ ।

सार्वजनिक ऋणको तह स्थिर रहने र विदेशी विनिमय सञ्चितिमा परेको चाप कम हुने अनुमान गरेको विश्व बैंकले कर प्रणालीको आधुनिकीकरण, विदेशी विनिमयको नयाँ स्रोतको आकर्षण (विशेष गरी प्रत्यक्ष वैदेशिक लगानी) र दिगो र समावेशी प्रगति सुनिश्चित गर्नका लागि सम्बोधन गर्नुपर्ने वित्तीय संघीयताको पूर्ण कार्यान्वयनसँग सम्बद्ध संरचनागत चुनौती भने नेपालले सामना गर्नुपर्ने बताएको छ ।

बिहीवार सार्वजनिक गरिएको दक्षिण एशियामा केन्द्रित ‘कपिङ विद सक्स : माइग्रेसन एन्ड द रोड टू रिसिलियन्स’ नामको अपडेटले यो वर्षको क्षेत्रीय विस्तार औसत ५ दशमलव ८ प्रतिशत हुने अनुमान गरेको छ । यो गत जुनमा विश्व बैंकले नै गरेको प्रक्षेपणको तुलनामा १ प्रतिशत विन्दुले कम हो । सन् २०२१ मा क्षेत्रीय वृद्धि ७ दशमलव ८ प्रतिशत थियो, जुन वर्ष अधिकांश मुलुकहरू महामारीजन्य मन्दीबाट सामान्य अवस्थामा फर्केका थिए ।

आर्थिक कठिनाइले दक्षिण एशियाका सबै मुलुकलाई अप्ठ्यारोमा पारे पनि केही मुलुकले भने त्यसको सामना अरूको तुलनामा राम्रोसँग गरिरहेका छन् । दक्षिण एशियाली क्षेत्रकै सबैभन्दा ठूलो अर्थतन्त्र भारतको निर्यात र सेवाक्षेत्रले विश्वव्यापी औसतभन्दा पनि बलियो रूपमा पुनरुत्थान गरिरहेको छ । उसको पर्याप्त विदेशी विनिमय सञ्चितिले बाह्य धक्काविरुद्ध पहरेदारी गरिरहेको छ ।

माल्दिभ्सको हकमा पर्यटन क्षेत्रको पुनरागमनले आर्थिक वृद्धिमा योगदान पुगेको छ । नेपाली अर्थतन्त्रलाई पनि पर्यटन क्षेत्रले केही मात्रामा टेवा दिएको छ । कोभिड–१९ र युक्रेन युद्धका कारण कीर्तिमानी विन्दुमा पुगेको महँगीको संयुक्त असर श्रीलंकाली अर्थतन्त्रका लागि भारी परेको छ ।

यसको परिमाणस्वरूप श्रीलंकाको विदेशी विनिमय सञ्चिति रित्तिएको र विदेशी ऋण धान्नै नसक्ने अवस्थामा पुगेको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ । इतिहासकै सबैभन्दा खराब अर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको वास्तविक कुल गार्हस्थ्य उत्पादन यो वर्ष ९ दशमलव २ प्रतिशतले र आगामी वर्ष २०२३ मा ४ दशमलव २ प्रतिशतले तल झर्ने प्रक्षेपण गरिएको छ । चर्को महँगीले पाकिस्तानमा पनि विदेशी मुद्रा सञ्चिति रित्याउँदै बाह्य असन्तुलनलाई अझ खराब बनाएको छ । त्यस्तै प्राकृतिक विपत्तिले पाकिस्तानको बालीनालीको एक तिहाइ अंश डुबानमा परेको छ ।

विश्वभर खाद्यवस्तु र ऊर्जाको मूल्यमा भएको वृद्धि तथा बिग्रँदो खाद्य सुरक्षाले दक्षिण एशियाको मुद्रास्फीति यो वर्ष ९ दशमलव २ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसले दक्षिण एशियाली क्षेत्रका गरीबहरूको आम्दानीमा गम्भीर धक्का दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्