नेपालको अर्थतन्त्र ५.१ % ले विस्तार हुन्छ : विश्व बैंक



काठमाडौं,असोज २२ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले विस्तार हुने प्रक्षेपण  गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/ २३ मा ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । बैंकको अनुसार आर्थिक वर्ष २०२३/ २४ मा नेपालले ४ दशमलव ९ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान छ ।

यो एशियाली विकास बैंक(एडीबी) ले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । एडीबीले भने ४ दशमलव ७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ । उता सरकारले भने बजेटमार्फत चालू आवमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने बताएको छ । साथै उसले यसले नेपालमा सार्वजनिक ऋणको स्तर स्थीर रहने अपेक्षा पनि गरेको छ ।

विश्व बैंकले विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान छ । आगामी आर्थिक वर्षका लागि भने अर्थतन्त्र विस्तारको अनुमान ४ दशमलव ९ प्रतिशत मात्र गरिएको छ ।

यस वर्ष दक्षिण एशियाली क्षेत्रको विस्तार औसतमा ५ दशमलव ८ प्रतिशत रहने छ । यस भेगमा भारतले सेवा क्षेत्र र निर्यात व्यापारमा उल्लेख कार्य गरेकाले सकारात्मक वृद्धि गरिरहेको पाइएको छ । रुस(युक्रेन युद्ध र यसले मूल्यमा परेको चापको प्रभाव भने सबैजसो मुलुकले भोग्नु परेको विश्व बैंकले उल्लेख गरेको छ ।

दक्षिण एशियामा सबैभन्दा संकटमा श्रीलंकाको अर्थतन्त्र रहेको छ । त्यहाँ यो वर्ष अर्थतन्त्रको आकार ९ दशमलव २ प्रतिशतले घट्ने अनुमान  छ । 

प्रतिक्रिया दिनुहोस्