विश्वको कारखाना गतिविधि सुस्तायो, उत्पादनमा पनि एक वर्षयताकै उच्च कमी
लन्डन (बेलायत),असोज २० । गत महीना विश्वभर कारखाना गतिविधिहरु सुस्त भएको छ । विश्वभर आर्थिक गतिविधि सुस्त भइरहेको र माग पनि सुस्ताएको समयमा कारखाना गतिविधि अधिकांश ठाउँमा कमजोर बनेका छन् । विश्वभर महँगी बढिरहेको अनि मौसद्रक नीति कसिलो भइरहेको समयमा कारखाना गतिविधि पनि प्रभावित भएको हो ।
यसले आर्थिक पुनःबहलीको आशा धूमिल बनाएको छ । पछिल्लो तथ्यांकले कोभिड–१९ को महामारीबाट विस्तारै जारी आर्थिक पुनःबहाली दिगो हुने आशा पनि चौपट पारेको छ । दशकौंयताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न विश्वभर केन्द्रीय बैंकहरुले ब्याजदर आक्रामक रुपमा बढाइरहेकै समयमा कारखाना गतिविधिसम्बन्धी पछिल्लो तथ्यांकले विश्वको अर्थतन्त्र थप सुस्ताउने हो कि भन्ने चिन्ता बढाएको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भन, बेलायतको बैंक अफ इंगल्यान्ड समेत विश्वकार ६ दर्जनभन्दा धेरै केन्द्रीय बैंकहरुले आकाशिएको महँगी नियन्त्रण गर्न ब्याजदर आक्रामक रुपमा बढाइरहेका छन् । ऊर्जा महसुल आकाशिएर उत्पादन सीमित बनेको अनि जीवनयापन संकट बढ्ने चिन्ताबीच यूरोजोनभर कारखाना गतिविधि गत महीना घटेको छ ।
यूरोजोनको लागि एसएन्डपी ग्लोबलको म्यानुफयाक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) सेप्टेम्बरमा ४८ दशलमव ४ अंकमा आएको छ । अगष्टमा पनि यो दर ४९ दशमलव ६ अंकमा थियो । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि मापन गर्ने पीएमआई सूचक ५ भन्दा तल आएमा सो क्षेत्रमा संकुचन आएको भन्ने बुझिन्छ । समीक्षा अवधिमा सूचक २६ महीनायताकै न्यून स्तरमा झरेको छ ।
ऊर्जाका बढ्दो महसुल लगायत समस्याका कारण यूरोपको कारखाना क्षेत्रले गम्भीर चुनौतीको निरन्तर सामना गरिरहेको असेन्चरमा ग्लोबल इन्डष्ट्रियल प्रमुख थोमस रिन भन्छन् । नयाँ अर्डरमा थप कमी आइरहेको उनले बताएका छन् । उच्च महँगी, बढ्दो अनिश्चय र बढ्दो जीवनयापन खर्चबीच अर्थतन्त्रहरुले निरन्तर दबाबको सामना गरिरहेको पनि उनले बताए । उच्च ऊर्जा लागतले यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा व्यवसायिक परिदृश्य नै शंकास्पद बनाएको छ । गत महीना जर्मनीको अर्थतन्त्र लगातार तेस्रो महीना खुम्चिएको थियो ।
फ्रान्समा पनि कारखाना गतिविधि सन् २०२० को मेयताकै तीव्र गतिमा खुम्चिएको छ । इटलीमा कारखाना गतिविधि पुनः घटेको छ तर कमी भने अगष्टको भन्दा सुस्त छ । यूरोपेली संघ (ईयू) बाहिर बेलायतमा विदेशबाट हुने माग घट्दा कारखाना गतिविधि लगातार तेस्रो महीना पनि खुम्चिएको छ । कच्चा पदार्थको लागत बढेको अनि विश्वको धूमिल परिदृश्यले कर्पोरेट मनोबलमा दबाब सृजना गरिरहेकै समयमा ताइवान र मलेशियामा पनि कारखाना गतिविधि खुुम्चिएको छ भने जापान, भारत र भियतनाममा वृद्धिको गति सुस्त भएको छ ।
चीनमा कारखाना तथा सेवा क्षेत्रको गतिविधि थप सुस्त भएको शुक्रवार सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न कसिलो लकडाउन गरिँदा चीनमा उत्पादनमा अवरोध उत्पन्न भएको छ भने विक्री पनि चौपट भएको छ । चीनको सरकारी तथ्यांकमा सेप्टेम्बरमा पीएमआई बढेको भएपनि खाईसिन र एसएन्डपी ग्लोबलको कारखाना क्षेत्रको गतिविधि सूचकमा अपेक्षाकृत उच्च कमी आएको छ ।
चीनले शून्य कोभिडको नीति छिटै खुकुलो बनाउने संकेत आइरहेकै समयमा चीनको अर्थतन्त्र यो वर्ष ३ प्रतिशतले मात्रै बढ्ने अनुमान कयौं विश्लेषकहरुले गरेका छन् । चीन, अमेरिका र यूरोपमा आर्थिक अवस्था खस्किरहेको आफूले देखेको दाई–इची लाइफ रिसर्च इन्ष्टिच्यूटका प्रमुख अर्थशास्त्री तोरु निशिहामाले भनेका छन् । यसले एशियाको कारखाना गतिविधिमा पनि दबाब सृजना गरेको उनको भनाइ छ । आपूर्ति अवरोधले पनि समस्या उत्पन्न गराएको भएपनि एशिया अहिले विश्वको सुस्त मागका कारण समस्यामा रहेको उनले बताए ।
जापानमा पनि कारखाना गतिविधि घटेर गएको महीना गत वर्षका जनवरीयताकै न्यून स्तरमा ओर्लिएको जिबुन बैंकको जापान म्यानुफ्याक्चरिङ पीएमआई सूचकले देखाएको छ । चीन र अन्य व्यापार साझेदारको माग कमजोर हुँदा नयाँ अर्डर २ वर्षयताकै तीव्र गतिमा घटेको छ ।
उत्पादनमा पनि एक वर्षयताकै उच्च कमी आएको छ । डलरको तुलनामा कमजोर येनले जापानको निर्यात केही बढाएको भएपनि यसले आयातित महँगी बढाएको छ भने घरेलु स्तरमा मूल्य दबाब बढाएको छ । एजेन्सीहरु