‘तेलको भाउ छिट्टै १०० डलरमा फर्किन सक्छ’
बेलायत,असोज १९ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ छिटै नै प्रतिब्यारेल १०० डलर आसपास फर्किन सक्ने विश्लेषण गर्न थालिएको छ ।
प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका प्रमुख तेल उत्पादन देशहरुको समूह (ओपेक प्लस) ले यही हप्ता कोरोना भाइरसको महामारी शुरु भएयताकै ठूलो उत्पादन कटौती गर्ने विचार गरिरहेको खबरहरु आइरहेकै समयमा पछिल्लो समय तेल बजार उकालो लागिरहेको छ ।
यो ऐतिहासिक कदमले तेलको भाउलाई पुनः तेहेरो (तीन ओटा) अंकमा फर्काउन सक्ने ऊर्जा विश्लेषकहरुले बताउन थालेका छन् । ओपेक र गैर ओपेक उत्पादकहरु आगामी चरणको उत्पादन नीतिबारे निर्णय गर्न बुधवार अष्ट्रियाको राजधानी भियनामा भेट्दैछन् । ओपेकप्लस सम्बद्ध स्रोतहरुलाई पत्याउने हो भने समूहले दैनिक उत्पादन १० लाख ब्यारेलभन्दा धेरैले घटाउनेबारे विचार गरिरहेका छन् । यसबाहेक पनि सदस्य देशहरुले स्वेच्छिक रुपमा पनि थप कटौती गर्ने अपेक्षा गरिएको छ ।
ओपेकसम्बद्ध देशका मन्त्रीहरु २ वर्षमा पहिलो पटक अष्ट्रियामा केही न केही गर्नका लागि आउन लागेको पिकरिङ एनर्जी पार्टनर्सका सीआईओ ड्यान पिकरिङले बताएका छन् । यो सन् २०२० यता समूहका पहिलो प्रत्यक्ष भेटघाट हुनेछ । यद्यपि, समूहले दैनिक उत्पादन करबि ५ लाख ब्यारेल कम गर्न सक्ने बताइएको छ । यो निकट भविष्यमा बजारलाई टेवा दिन पर्याप्त हुने उनको भनाइ छ ।
सोमवार कच्चा तेलको भाउ करीब ४ प्रतिशतले बढेको थियो । मंगलवार पनि तेलको भाउमा २ प्रतिशतभन्दा बढीकै वृद्धि देखिएको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार साँझ ७ बजेतिर लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ९२ डलर २१ सेन्टमा उक्लिएको थियो ।
सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोेमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ प्रतिब्यारेल २ दशमलव ७३ प्रतिशतले बढेर ८५ डलर ६३ सेन्टमा किनबेच भइरहेको थियो ।
ओपेकप्लसले तेल उत्पादनमा उल्लेख्य कटौतीको अपेक्षा गरिएको अनि यसले भौतिक मागलाई कसिलो पार्नुको साथै बजारमा महत्वपूर्ण संकेत पठाउने फिच सोलुसन्सले एक नोटमा भनेको छ । ओपेकप्लसले ऊर्जा आपूर्ति सुनिश्चित गर्न र उत्पादक र उपभोक्ताहरुको हितलाई जोगाउन उपर्युक्त निर्णय गर्ने कुवेतका तेल मन्त्रीले बताएका छन् ।
अहिले तेल बजारमा युक्रेनमा रुसको आक्रमणको अवस्थामा चलिरहेको भएपनि ओपेक प्सल यति दरिलो कहिले नदेखिएको अनि अहिलेकै स्तरमा मूल्यलाई टेवा दिन उनीहरुले गर्न सक्ने वा पर्ने सबै कुरा गर्ने ओन्डाका वरिष्ट विश्लेषक एडवार्ड मोयाले भनेका छन् ।