भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई



एजेन्सी,असोज १९ । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो ।     
     
क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरू सम्मानित हुन लागेका हुन् । उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, बेल असमानताहरूको उल्लङ्घन स्थापित गर्न र क्वान्टम सूचना विज्ञानको अग्रगामी स्थापना गर्नका लागि’ खोज तथा योगदान गरेबापत् सम्मानित गरिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बताएको छ ।

क्वान्टम कम्प्युटर, नेटवर्क र सुरक्षित इन्क्रिप्टेड सञ्चारका लागि मार्ग प्रशस्त गर्ने क्वान्टम मेकानिक्सको क्षेत्रमा भएका खोजका लागि उनीहरु पुरस्कृत भएका हुन्। खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि एउटै इकाईको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ ।     
     
प्रत्येक वैज्ञानिकले ‘जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर आधारभूत प्रयोगहरू गरे, जहाँ दुई कणहरू अलग हुँदा पनि एउटै एकाइ जस्तै व्यवहार गर्छन्,’ समितिले भनेको छ । “खोज परिणामहरूले क्वान्टम जानकारीमा आधारित नयाँ प्रबिधिको लागि मार्ग प्रशस्त गरेको छ ।  

भौतिकशास्त्रको नोबेल कमिटीका अध्यक्ष एन्डर्स इरब्याकका अनुसार नयाँ प्रकारको क्वान्टम प्रबिधिको उदय भइरहेको खोज र यसको परिणामबाट स्पष्ट भएको छ । फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध वैज्ञानिक हुन् ।     
     
अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसनले क्यालिफोर्नियामा आफ्नै कम्पनी स्थापना गरी वैज्ञानिक खोज गर्दै आएका छन् ।   त्यसैगरी ७७ वर्षका एन्टोन साइलिङ्गर भियना विश्वविद्यालयमा संलग्न वैज्ञानिक हुन् । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयबुलाई प्रदान गर्ने घोषणा सोमवार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्