आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण दशैं, अर्बौंको कारोबारले चम्काउँछ अर्थतन्त्र
काठमाडौं,असोज १८ । दशैं राम्रो लगाउने, मिठो खाने र घुमफिर गर्ने पर्वको रूपमा रहेको छ । खुशीको पर्व दशैंले अर्थतन्त्रलाई पनि चलायमान बनाउने गरेको छ । मूलत: हिन्दू धर्मावलम्बीहरूको पर्व भए पनि सांस्कृतिक एकताको पर्वको रूपमा रहेको दशैंले हालको बजार अर्थतन्त्रलाई प्रचुर योगदान दिँदै आएको छ । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंको सामाजिक र सांस्कृतिक मात्र होइन आर्थिक महत्त्व पनि उत्तिकै छ ।
पहिलापहिला दशैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो । दशैंमा मरमसला, थान कपडा, टुकी बाल्ने मट्टीतेल किन्नमै धेरैको ध्यान जान्थ्यो । अलि हुनेखानेले फुर्मासी गर्नु बेग्लै कुरा, नभए नगदमा आधारित अर्थतन्त्रको उदय नहुन्जेल दशैंलाई आवश्यक अधिकांश मालसामान आफै उत्पादन गरेर जोहो गरिन्थ्यो । त्यसबेलाका आवश्यकता पनि अहिलेजस्तो असीमित थिएन, सीमित मात्र हुन्थ्यो । आवश्यकता परे पनि न किनमेल गर्ने बजार हुन्थ्यो, न खल्तीमा पैसा । भकारीबाट धान झिकेर चिउरा कुट्ने मेलोमेसो, मरमसलाको तयारी, थान कपडा किनेर सिलाउने प्रबन्ध, कमेरोले घर लिपपोत र बोका–खसी वा मासुको तारतम्य मिलाएपछि दशैंको तयारी सकिन्थ्यो ।
दशैं खुशीको पर्व हो । आम सर्वसाधारणदेखि कर्मचारीसम्मको मुहारमा दशैंले खुशी ल्याउँछ । निजीक्षेत्रका संघसंस्था जस्तै, बैंक तथा वित्तीय संस्थामा कर्मचारी एवं अन्यले पनि दशैं खर्चबापत राम्रै रकम पाउने हुनाले पनि यो खर्च हुने समय हो ।