विदेशी स्याउको कब्जामा नेपाली बजार: २ महिनामै बाहिरियो डेढ अर्ब, स्थानीयले पाएन भाउ
काठमाडौं,असोज १० । स्याउ आयातमा नेपालबाट दुई महिनामै डेढ अर्ब बढी रकम बाहिरिएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को साउन र भदौ महिनामा मात्रै नेपालबाट १ अर्ब ४० करोड ५७ लाख १० हजार रुपैयाँ स्याउ आयातमा बाहिरिएको हो ।
नेपाली उत्पादनलाई पूर्ण प्रयोगमा ल्याउन नसक्दा स्याउ आयातकै नाममा नेपालबाट वर्षेनी अर्बौ रकम विदेशीने गरेको छ ।भन्सार विभागका अनुसार भदौ मसान्तसम्ममा १८ हजार ९०४ टन बढी स्याउ नेपाल भित्रिएको हो । एक महिनाको अवधिमा स्याउ आयात १०५ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको पहिलो महिना अर्थात साउनमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँ बराबरको ९ हजार २१० टन बढी स्याउ आयात भएको थियो । नेपालमा छिमेकी दुई मुलुक भारत र चीनबाट स्याउ आयात हुने गरेको छ । नेपालमा उत्पादन हुने गरेको स्याउको राम्रो ग्रेडिङ हुन नसक्नु र ढुवानीमा हुने कठिनाइका कारण विदेशी मुलुकबाट बर्षेनी अरबौं रकमको स्याउ आयात हुने गरेको छ ।
नेपाली उत्पादनले बजार नपाउने, किसानको लगानी नउठ्ने तर आयात भने प्रशस्त हुने गरेको छ । चालु आवको भदौ मसान्तसम्ममा स्याउ आयातबाट सरकारले २० करोड १६ लाख २ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
नेपाली बजार भारतीय स्याउको कब्जामा देखिएको छ । चालु आवको भदौ मसान्तसम्म भारततबाट ९५ करोड ५१ लाख ३० हजार रुपैयाँ बराबरको १४ हजार ३३६ टन बढी स्याउ आयात भएको हो ।यस्तै, चीनबाट पनि ४५ करोड ५ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ नेपाल भित्रिएको छ । चीनबाट ४ हजार ५६७ टन स्याउ आयात भएको हो ।
नेपालमा पनि मुस्ताङ, जुम्ला लगायतका जिल्लामा स्याउ उत्पादन हुने गरेको छ । नेपालमै उत्पादित स्याउको बजार व्यवस्थापनमा ध्यान दिन जान सकेको छैन । जसका कारण नेपालीमै उत्पादित स्याउ ओझेलमा परेको छ । अहिले मुस्ताङ जिल्लामा स्याउ उत्पादन बढी रहेको छ। तर, बजारीकरणका लागि यातायातको निकै समस्या रहेको छ । यस्तै, जुम्लाको स्याउ पनि कठिन भूगोलका कारण ढुवानी र बजारीकरणमा समस्या छ ।
नेपालको डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा स्याउखेती हुन्छ । ती जिल्लामा उत्पादित स्याउ ढुवानी गरेर काठमाडौंलगायत सहरमा पुर्याउन नसक्दा समस्या भएको छ ।
स्थानीय उत्पादित स्याउले सरल र सहज रुपमा बजार नपाउँदा नेपाली किसानहरु चिन्तित हुने गरेका छन् । अर्को तर्फ विदेशी स्याउ खरिदमा वर्षेनि अरबौं रकम बाहिरिने गरेको छ ।
यदि स्वदेशमै उत्पादित स्याउको बजार व्यवस्थापन र बजारीकरण गर्न सकेमा रोजगारी सृजना, आयआर्जन वृद्धि र आयात प्रतिस्थापन गर्न सकिने जानकारहरुको भनाई छ । यसले अर्थतन्त्रमा समेत धेरै ठेवा पुग्ने देखिन्छ ।