८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ, अधिकतम भाडादर १७ हजार



काठमाडौं,असोज ४ । दसैँका लागि हवाई सेवा प्रदायक कम्पनीले ८० प्रतिशत अग्रिम टिकट बुकिङ गर्ने भएको छ । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन् ।

यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दसैँ आउन एक साता बाँकी हुदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ ।

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौँ–धनगढी हवाई भाडा सात हजार पाँच सय रहेकामा अहिले अधिकतम १७ हजार कायम गरिएको छ ।

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ । विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम चार हजार पाँच सय अधिकतम भाडादर १० हजार कायम गरिएको छ ।

अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौँ फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्