मुस्ताङबाट १२ हजार भेडाच्यांग्रा पोखरा ल्याइँदै



पोखरा,असोज ४ । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडाच्यांग्रा पोखरा ल्याइने भएको छ । पोखरामा दशैंका बेला भेडाच्यांग्रा बढी खरीदविक्री हुने गरेको छ । पोखरा र आसपासका क्षेत्रमा विशेषगरी च्यांग्राको माग बढ्दो छ ।

पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडाच्यांग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेकाले नआउने भएको छ ।

च्यांग्राको बढ्दो मागसँगै मुस्ताङका बारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड र ल्होमन्थाङ गाउँपालिकामा च्यांग्राको व्यावसायिक पालन बढ्दै गएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए ।

उनका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करीब २० हजार भेडाच्यांग्रा पालेका छन् । त्यस्तै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजार भेडाच्यांग्रा पालन गरिएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करीब १० हजार भेडाच्यांग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि किसानहरू भेडाभन्दा पनि च्यांग्रातिर आकर्षित बनेका छन् । ल्होघेकर दामोदरकुण्ड, बारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्यांग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने बढी संख्यामा भेडा पालन भइरहेको छ । सामान्यतया च्यांग्रा जन्मेको चार वर्षपछि बेच्न योग्य हुने गर्छ ।

पोखरामा घटस्थापनापछि भेडाच्यांग्राको व्यापार हुने गरेको छ । मुस्ताङबाट पोखरासम्म हिँडाएर भेडाच्यांग्रा ल्याउन करीब चार दिन लाग्ने भेडाच्यांग्रा व्यापारी सन्दीप गुरुङले बताए । ‘हिमाली भेगबाट पहाडी भेगमा गाडीमा ल्याउँदा भेडाच्यांग्रामा श्वासप्रश्वासमा समस्या आउने गर्छ, त्यसैले हिँडाएर ल्याउँदा सुरक्षित पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘हिँडाउँदै, चराउँदै ल्याउँदा बाटोमा हराउने समस्या भने छ ।’

मुस्ताङबाट झर्ने भेडाच्यांग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले जानकारी दिए । विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्‍याउन गाह्रो हुने देखिएको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडाच्यांग्राको मासु स्वादिष्ट र स्वस्थकर हुने भएकाले पोखरामा वर्षेनि यसको माग बढ्दै गएको गुरुङले बताए । अघिल्लो वर्ष पोखरामा दशैंको समयमा रू. ६४ करोडको भेडाच्यांग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्