यी ३ कारण, जसले घरजग्गा कारोबारमा तत्काल सुधार आउन दिँदैनन्, अझै कति महीना रहला मन्दी ?
काठमाडौं,असोज ३ । विगत लामो समयदेखि ओरालो लागेको घरजग्गा कारोबारले भदौमा पनि निरन्तरता पाएको छ । भदौ महीनाभरी ३४ हजार ७०० घरजग्गा किनबेच भएका छन् । साउनमा ३३ हजार घरजग्गा किनबेच भएका थिए ।
साउनको तुलनामा भदौमा कारोबारको संख्या थोरै बढे पनि यसले विगतको लय समात्न कति वर्ष कुर्नुपर्ने हो भन्ने अनुमान लगाउन सजिलो छैन ।
घरजग्गा कारोबार उच्च विन्दुमा हुँदा मासिक ८८ हजारसम्म घरजग्गा किनबेच भएका थिए भने सामान्य समयमा पनि ५० देखि ६० हजार घरजग्गा किनबेच हुने गरेका थिए ।
भदौमा राजस्व संकलन साढे ३ अर्ब रूपैयाँ पुगेको छ । साउनमा २ अर्ब ७३ करोड रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।
साउनको तुलनामा भदौमा ८३ करोड रूपैयाँ बढी राजस्व संकलन भएको छ । तर, यो सामान्य समयमा हुने राजस्व संकलनको आधाभन्दा पनि कम हो ।
घरजग्गा कारोबार उच्च हुँदा एकै महीनामा करीब १० अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो । सामान्य समयमा पनि ६ देखि ७ अर्ब रूपैयाँ राजस्व संकलन हुने गरेको थियो ।
घरजग्गा कारोबारमा मन्दी आएसँगै मासिक राजस्व संकलन घटेर ३/४ अर्ब रूपैयाँ वरिपरि मात्रै भइरहेको छ ।
उपत्यकाबाहिर सुनसरी, विराटनगर, चितवन र पोखरामा १० करोड रूपैयाँ बढी रजिष्ट्रेशन दस्तुर संकलन हुने गरेकोमा अहिले काठमाडौंका डिल्लीबजार, लगनखेल, चाबहिल, कलंकी, भक्तपुर र साँखु मालपोत कार्यालयले मात्रै १० करोड रूपैयाँभन्दा बढी रजिष्ट्रेशन शुल्क संकलन गरेका छन् । अन्य कुनै पनि कार्यालयले १० करोड रूपैयाँ रजिष्ट्रेशन शुल्क संकलन गर्न सकेनन् ।