१ लाखले मात्र पाउने सिक्लेस हाइड्रोपावरको आइपीओमा १५ लाखको पर्यो आवेदन



काठमाडौं,असोज २ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओमा १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँको आवेदन परेको छ । आज अन्तिम दिन साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन मा भन्दा १६.२९ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको थियो भने बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ५ हजार ८०० जनाले मात्रै कम्पनीको शेयर पाउनेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्