रसुवागढी नाकाबाट आयात पुनः सञ्चालन
काठमाडौं,असोज २ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपछि सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो ।
आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो । सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।
गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङ ल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ग्यावियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थिच्ने र ढुङ्गा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ ।
बडा दसैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँते ओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन्।