४१ जिल्लाका ४५ स्थानमा एकसाथ सुपथ मूल्य पसल उद्घाटन
काठमाडौं,असोज २ । देशभरका ४१ जिल्लाका ४५ स्थानमा एकैसाथ सुपथ मूल्य पसल उद्घाटन भएकाे छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडाैंलगायत ४१ जिल्लाका ४५ ओटा शाखामा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालन भएकाे जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाडलक्षित सुपथ मूल्य पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरे ।
स्थानीय तहहरूलाई बजार अनुगमन गर्न आग्रह
मन्त्री बडूले स्थानीय तहहरूलाई बजार अनुगमन गर्न आग्रह गरे । उनले दशैं, तिहार, छठ लगायतका चाडपर्वहरू आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविकरूपमा मुल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए ।
मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भए पनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने उनको भनाइ छ । उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भए पनि ति तहहरूबाट अपेक्षित र प्रभावकारीरूपमा अनुगमन हुन नसकेको बताए ।
मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखीकरण राख्न निर्देशन दिए । साथै उनले कम्पनीको सम्पत्तिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देश गरे । मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा विक्री वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाइएको बताए ।