मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष
काठमाडौं,भदौ ३१ । काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण गरिएको छ । उक्त कक्षको बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् ।
सो अवसरमा मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रूपमा झल्काउने प्रमुख स्रोत ‘मुद्रा संग्रहालय’ पर्यटकका लागि समेत आकर्षणको केन्द्र रहेको बताए । देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले नेपालको इतिहास दर्शाउने मुद्राहरूको संकलन गरी संग्रहालयको रूपमा विकास गरिनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
नेपालमा आउने पर्यटकका लागि मात्र नभई इतिहास, संस्कृति तथा पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्ने अपेक्षा उनले गरे । संग्रहालयमा संकलित मुद्राहरूलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने ईशापूर्व पाँचौं शताब्दीदेखि ईशाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरू संग्रहालयमा राखिएका छन् ।