साल्ट ट्रेडिङको ६०औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं,भदौ २८ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) को ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीले सोमवार एक कार्यक्रम आयोजना गरी आफ्नो ६०औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले एसटीसीले उपभोक्तालाई गुणस्तरीय उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराइरहेको बताइन् । कम्पनी कोरोना महामारीको कठिन समयमा पनि उपभोक्ताको सेवामा समर्पित रहेको उनको भनाइ छ ।

‘कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बाबजुद पनि उपभोक्तालाई सेवा प्रदान गर्दै आइरहेको छ,’ उनले भनिन्, ‘हामी आफ्नो कार्यक्षेत्रलाई व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्य वस्तु उत्पादन, आयात तथा वितरणमा केन्द्रित रहने छौं ।’

श्रेष्ठले निषेधाज्ञाको समयमा समेत उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिएको बताइन् । यस्तै किसानलाई समयमै मल उपलब्ध गराउन कर्पोरेशन लागिपरेको र सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एक सन्देश पठाउँदै साल्ट टेड्रिङ कर्पोरेशनले संकटमा खेलेको भूमिकाको उच्च प्रसंशा गरे । उनले दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङलाई व्यावसायिक रूपमा थप अघि बढ्न सुझाएका छन् ।  

कर्पोरेशनले व्यावसायीकरणमा जोड दिने क्रम जारी रहेको बताएको छ । दशैंअघि नै हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याउने योजना रहेको पनि सो अवसरमा जानकारी दिइयो । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेल उपभोग गर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटीसी ब्रान्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । कर्पोरेशनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठले गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको बताए । विक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको उनको भनाइ छ ।  

कर्पोरेशनका अनुसार पाँच वर्षयता यसको कारोबार निरन्तर बढिरहेको छ । कर्पोरेशनले वार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीलाई पुरस्कार समेत वितरण गरेको छ । दुई जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै अनाथ आश्रमलाई आर्थिक सहयोग गरेको कर्पोरेशनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्