कैदी र थुनुवाको पनि स्वास्थ्य बीमा हुने



काठमाडौं,भदौ २६ । सरकारले कैदी तथा थुनुवाको पनि स्वास्थ्य बीमा गर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले कैदी तथा थुनुवालाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने कार्यविधि, २०७९ जारी गर्दै बीमा गर्ने बाटो खुला गरेको हो ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा ३ मा वृद्धाश्रम, अनाथलाई, बालसुधार गृह दगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नुपर्ने प्रावधान छ । सोही बमोजिम बोर्डले प्रक्रिया अगाडी बढाएको हो ।

सरकारले चालु आवमा कैदीवन्दीहरूको स्वास्थ्य उपचारलाई थप व्यवस्थित गर्न स्वास्स्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने लक्ष्य लिएको थियो । कार्यविधि स्वीकृत भएपछि कारागार व्यवस्थापन विभाग र स्वास्थ्य बीमा बोर्डबीच कैदी तथा थुनुवाहरूको स्वास्थ्य बीमा गर्ने सम्बन्धमा सम्झौता भएपछि बीमा कार्यक्रम अघि बढ्नेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सम्बन्धित कारागारले नजिकको दर्ता सहयोगी वा अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् । कारागारबाट प्राप्त भएका विवरणहरूका आधारमा बोर्डले स्वास्थ्य उपचार बीमाको व्यवस्था गरी परिचयपत्र उपलब्ध गराउने छ । कम्तीमा एक वर्ष कैद अवधि बाँकी रहेका कैदी तथा थुनुवालाई मात्रै यस कार्यविधि अनुसारको स्वास्थ्य उपचार दिने बोर्डले जनाएको छ ।

बीमा गरिएको कैदी तथा थुनुवाहरूको बीमालेख वापतको रकम कारागार व्यवस्थापन विभागले बोर्डलाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । बीमालेख जारी भएका कैदी तथा थुनुवाहरूको बीमा योगदान रकम प्रति परिवार ३५ सय रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्