स्वदेशी जडीबुटीको क्षेत्रमा लुकेका आधार
समुद्र सतहबाट ६७ मीटरदेखि ८ हजार ८४८ मीटरसम्मको फरक भूअवस्थितिले नेपाललाई जडीबुटी स्रोतहरूमा उल्लेखनीय विविधता प्रदान गर्छ । नेपालमा करीब ४० प्रतिशत वनक्षेत्र छ । यहाँ ३५ प्रकारका वन र ११८ विभिन्न पारिस्थितिक प्रणाली छ, जहाँ उच्च मूल्यका बोटबिरुवाको अनुमानित ७ हजार प्रजाति पाइन्छ । मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्स डाटाबेस अफ नेपालले नेपालमा १ हजार ६२४ प्रजातिका जडीबुटी रहेको अनुमान गरेको छ । यसमध्ये १०० प्रजातिका बिरुवाको व्यापार हुन्छ । २३ प्रजातिहरू उच्च मात्रामा व्यापार भएका छन् ।
विविधतापूर्ण हावापानीका कारण नेपालमा यार्सागुम्बा, चिराइतो र जटामसीजस्ता केही अनौठा र बहुमूल्य जडीबुटी र औषधिजन्य वनस्पति पाइन्छन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म ७ दशमलव ८ टन सुगन्धित तेल र ३० लाख ५० हजार ९ सय ६८ थान हर्बल केयर उत्पादन गरेको छ । पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म विभिन्न जडीबुटी पाइन्छ । नेपाली जडीबुटी यूरोप, संयुक्त राज्य अमेरिका, पूर्वी एशिया र भारतमा ठूलो परिमाणमा निर्यात हुने गरेको छ ।
अर्थतन्त्रको उत्थानका लागि हरेक सम्भाव्य क्षेत्रबाट तर्कसंगत रूपमा सोच्ने र कार्यान्वयन गर्ने समय आएको छ । यसको सम्भावित पक्षमध्ये एक जडीबुटी हो । जडीबुटी र यसको व्यवसायीकरणको प्रत्यक्ष सम्बन्ध स्वास्थ्य (जैविक औषधि तथा हर्बल केयर), आयुर्देव (चिकित्सा शिक्षा), पर्यटन (आयुर्वेद पर्यटन) र अन्तत: अर्थतन्त्रसँग छ ।
भौगोलिक र जैविक विविधताले गर्दा नेपालको हरेक कुनामा कम्तीमा एउटा जडीबुटी पाइन्छ । आर्थिक वर्ष २०७८/७९ को फागनुसम्म ९३७ वटा जडीबुटीजन्य नमूनाको विश्लेषण, प्रमाणीकरण तथा सिफारिश गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ हजार ७२१ वटा जडीबुटीजन्य नमूना र सारतत्त्वको विश्लेषण, प्रमाणीकरण गरी निर्यातका लागि सहजीकरण गरिएको थियो । वनस्पति स्रोतको निरन्तर अध्ययन, अनुसन्धान तथा सर्वेक्षणमार्फत प्राप्त तथ्यांकअनुसार २०७९ फागुनसम्म रैथाने वनस्पतिको २९३ प्रजाति अभिलेखीकरण भएको छ । नेपालमा ५,३०९ प्रजाति फूल फुल्ने र ६,०८३ प्रजाति फूल नफुल्ने वनस्पति पाइन्छ । आर्थिक सर्वेक्षणले जडीबुटीको अनुसन्धान र विकासप्रति बढ्दो चासोलाई झल्काउँछ । जडीबुटीको व्यवसायीकरणमा सरकारको चासो बढेको तथ्यांकले देखाएको छ ।
जडीबुटीको व्यवसायीकरण गर्दा वास्तविक क्षेत्रमार्फत पूँजी बजारसँग जोड्न सकिन्छ । प्राथमिक बजारमार्फत पूँजी संकलन गर्न सकिन्छ । वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य नियामक निकायबाट जडीबुटीसँग सम्बद्ध व्यावसायिक तथा आर्थिक गतिविधिलाई नजीकबाट अनुगमन गर्न सकिनेछ । ती संस्थाले व्यावसायिक जडीबुटी गतिविधि विकासका लागि आवश्यक नीति र रणनीति बनाउन सक्छन् ।
स्थानीय शीप र औपचारिक नियमनको सहकार्यमा जडीबुटी उत्पादन र व्यवसायीकरणबाट स्थानीय समाज र समग्र अर्थतन्त्रलाई लाभान्वित गर्न सकिन्छ । अन्तत: जडीबुटीको व्यवस्थित, वैज्ञानिक र आधुनिक उत्पादनलाई बजारीकरण र मूल्य शृंखला विश्लेषणसँग सहकार्य गर्न सकिन्छ । यसले जडीबुटी उत्पादनबारे जानकारी दिन र बजार सृजना गर्न मार्केटिङ मिक्सको अनुसन्धान र विकास प्रक्रियालाई बढावा दिन सक्छ । बिस्तारै मार्केटिङ प्रक्रियाले लक्षित समयसीमामा जडीबुटी उत्पादनका लागि जागरुकता र माग सृजना गर्न सक्छ । यस प्रक्रियाले स्थानीय उत्पादनको अस्तित्व र त्यसका फाइदाबारे मानिसलाई मनाउन सक्छ ।
जडीबुटीले कच्चा माल र उत्पादनका रूपमा क्षमता दोहन गर्ने राम्रो अवसर प्रदान गर्न सक्छ । यसका लागि नेपालको हरेक कुनामा सम्भावित क्षेत्रको वास्तविक पहिचान गर्न उचित सम्भाव्यता अध्ययन गर्न आवश्यक छ । जडीबुटीको व्यवसायीकरण गर्न यसलाई अर्थतन्त्रका अन्य क्षेत्रहरू जस्तै पर्यटन, शिक्षा र उद्योगमा पनि एकीकृत गर्न सकिन्छ । जडीबुटी पर्यटन, आयुर्वेदिक चिकित्सा अध्ययन, सौन्दर्य अध्ययन, हर्बल केयर, होमियोप्याथी र अन्य परिचित तथा अपरिचित पक्ष र जडीबुटीको अर्थतन्त्रमा समन्वय गर्न सकिन्छ । जडीबुटीको व्यवसायीकरणले कृषिमा आत्मनिर्भरता र ग्रामीण जीवनको उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय जनसंख्याले स्थानीय जडीबुटी स्रोत चिन्न सक्छन्, उनीहरूलाई ती उपलब्ध स्रोत संकलन र संरक्षण गर्ने रैथाने विधि थाहा हुन सक्छ । यसरी स्थानीय र ग्रामीण शीपको सही उपयोग गरी ग्रामीण अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा एकीकृत गर्न सकिन्छ । ग्रामीण र शहरी अर्थतन्त्रबीचको आर्थिक खाडल पुर्न जडीबुटीको व्यवसायीकरणले अमूल्य भूमिका खेल्न सक्छ ।
आयुर्वेद र अन्य स्वदेशी औषधिको मागको विश्वव्यापी बढ्दो प्रवृत्तिका कारण जडीबुटीलाई व्यावहारिक क्षेत्रका रूपमा हेर्न सकिन्छ । जडीबुटीको उत्पादन र निर्यातमा बेरोजगारी र ग्रामीण जनसंख्यालाई विविधीकरण गर्न सकिन्छ । अन्तत: प्रत्येक स्थानीय तहमा सूक्ष्म चरणमार्फत प्रत्येक व्यक्ति आत्मनिर्भर हुन सक्छ । प्रत्येक स्थानीय व्यक्तिले औषधीय बिरुवा (जडीबुटी) को कटानी र व्यापारबाट आर्थिक र सामाजिक लाभ कमाउन सक्छ । यसले गरीबी र लुकेको बेरोजगारी समस्यालाई व्यक्तिगत स्तरबाट कम गर्न सक्छ, जुन आत्मनिर्भरताको आधार हो । अर्थतन्त्रका सबै पक्षले आआफ्नो तहबाट सहकार्य गरेपछि मात्रै आत्मनिर्भरता सम्भव छ । औषधीय (जडीबुटी) र सुगन्धित वनस्पतिलाई नेपालमा आर्थिक विकासको ठूलो सम्भावना भएको सम्भावित उच्च मूल्यको वस्तुका रूपमा पहिचान गरिएको छ ।