गरिबले खाने चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, अन्य चामल निर्यातमा २० % शुल्क
नयाँ दिल्ली,भदौ २५ । भारतले टुक्रिएको चामल अर्थात् कनिका चामलको निर्यातमा रोक लगाएको छ । यो चामल अफ्रिकी मुलुकमा खाानको लागि प्रयोग हुन्छ । तर नेपालमा भने दाना उद्योग र रक्सी उद्योगमा खपत हुने गर्छ ।
यो सिजनमा धान उत्पादन हुने केही राज्यमा चरम सुख्खाका कारण धान बाली प्रभावित भएको छ । धान खेतीको क्षेत्रफल घटेको छ । उत्पादन घटेर घरेलुस्तरमा आपूर्ति कसिलो हुने हो कि भन्ने चिन्ताबीच कनिका चामलको भाउ दोब्बर बने पछि सरकारले टुक्रा चामलको निर्यात रोकेको हो । अर्कोतिर गैर–बासमति चालमको निर्यातमा पनि २० प्रतिशत शुल्क लगाएको छ । भारतले आन्तरिक आपूर्ति सहज बनाउन निर्यात शुल्क वृद्धि र कनिका चामलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको बुझिएको छ ।
यो प्रतिबन्ध लागू हुनु अघि ढुवानी भइसकेका वा ढुवानी महसुल तिरिसकेका वा ढुवानीका लागि जहाजहरू भारतीय बन्दरगाहमा आएर बसिसकेका, रोटेशन नम्बर जारी भइसकेका वा भन्सारमा कन्साइन्मेन्ट बुझाइसकेको अवस्थाको ढुवानीलाई भने सेप्टेम्बर १५ सम्म निर्यातको अनुमति दिइएको छ ।
भारतको पछिल्लो कदमको सोझै प्रभाव नेपालमा पर्दछ । नेपालले भारतबाट वार्षिक ७/८ अर्ब रुपैयाँ बढीको चामल आयात गर्दै आएको छ । त्यसमध्ये अहिले निर्यात प्रतिबन्ध लगाएको कनिका चामलको हिस्सा र निर्यात शुल्क बढाइएको चामलको हिस्सा कुनै वर्ष आधा आधा र कुनै वर्ष ६०/४० रहेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।
गत आर्थिक वर्षमा नेपालले विदेशबाट २९ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको कुल ५२ करोड ८३ लाख ७५ हजार केजी मूल्य बराबरको गैर–बासमति चामल आयात गरेको छ । यो मध्ये भारतबाट मात्रै २८ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बढीका ५२ करोड ५९ लाख ७७ हजार केजी गैर–बासमति चामल आयात भएको छ । अब यो चामल आयात गर्दा २० प्रतिशत अतिरिक्त शुल्क तिर्दा नेपालीको भान्सा थप प्रभावित हुने छ ।
नेपालले कनिका चामलको आयात भने डेढ अर्ब रुपैयाँको गरेको छ । १ अर्ब ५३ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको ५ करोड ३ लाख ८५ हजार ८९३ केजी टुक्रे चामल आयात भएको छ । जुन अधिकांस कुखुराको दाना र रक्सी उद्योगमा खपत हुने गरेको छ । आर्थिक अभियानबाट