२८ खर्बभन्दा तल झर्यो कुल बजार पूँजीकरण, कारोबार रकम ५ अर्बमा खुम्चियो
काठमाडौं,भदौ २५ । एक वर्षअघिसम्म रू. ४४ खर्ब ६८ अर्बभन्दा बढी कुल बजार पूँजीकरण रहेको नेपालको धितोपत्र रू. २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाखमा झरेको छ ।
गत साता रू. २८ खर्ब २६ अर्ब ६४ करोड ६२ लाख रहेको कुल बजार पूँजीकरण यो साताको कारोबारमा रू. ४७ अर्ब १५ करोड ४८ लाखले घटेको हो । सूचीकृत कम्पनीहरू बजारमा थप हुँदा सूचीकृत शेयरको संख्या बढीरहेको अवस्थामा बजारको कुल पूँजीकरणमा भने कमि आइरहेको छ ।
पछिल्लो समय धितोपत्र कारोबार मापक नेप्से परिसूचक निरन्तर घटिरहदाँ सूचीकृत कम्पनीको शेयरमूल्यमा असर परेसँगै पूँजीकरण घट्न पुगेको हो । गत साताको अन्तिम कारोबार दिन १ हजार ९७० दशमलव ६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १ हजार ९३७ दशमलव ७४ विन्दुमा झरेको छ ।
पाँच कारोबार दिनमा नेप्से परिसूचक पहिलो कारोबार दिन ६ दशमलव ६८ अंकले बढेको थियो भने त्यसपछिको चार कारोबार दिन निरन्तर घटेको छ । गत साताको तुलनामा नेप्से परिसूचक ३२ दशमलव ८८ अंक तल झरेको हो । नेप्से परिसूचकसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३६ अंक तल झरेको छ । गत साता ३८३ दशमलव २० विन्दुमा रहेको नेप्से परिसूचक यो साता ३७६ दशमलव ८४ विन्दुमा झरेको हो ।
बजारका महत्वपूर्ण सबै सूचकहरू यो साता ऋणात्मक देखिएका छन् । नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कुल बजारपूँजीकरणसँगै यो साता कारोबार रकम र कित्तामा समेत कमि आएको छ । गत साताको तुलनामा एक दिन कम कारोबार भएपनि औषतमा कारोबार रकम र कित्ता घटेको देखिन्छ ।
गत साता ६ कारोबार दिनमा रू. ७ अर्ब ५५ करोडभन्दा बढीको २ करोड १२ लाख ५३ हजार ७७८ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ५ अर्ब ४ करोडभन्दा बढीको १ करोड ४८ लाख ७६ हजार १४६ कित्ता धितोपत्र खरीदविक्री भएको हो । गत साताको तुलनामा यो साता रू. २ अर्ब ५१ करोडभन्दा बढीको ६३ लाख ७७ हजार ६३२ कित्ता कम धितोपत्र खरीदविक्री भएको हो । औषतमा यो साता रू. २५ करोड ४ लाखभन्दा बढीको ५ लाख ६७ हजार ६७ कित्ता कम धितोपत्र कारोबार भएको देखिन्छ ।