ढकमक फूल्न थाले थानापति कृषि उद्याेगमा सयपत्री फूल



नुवाकोट,भदौ २४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको थानापति कृषि फार्ममा ढकमक सयपत्री फूल फूल्न थाकेका छन् । त्यसो त सो कृषि फार्मका सञ्चालक रामप्रसाद पुडासैनीले परिक्षण स्वरुप मेरीगाेल्ड कर्मा ५५५ जातको फूल लगाएका थिए । तीन महिनामै फूलका थुङ्गा मुस्कुराउनु थालेपछि पुडासैनीलाई हर्षानुभूती तुल्याएको छ । यहाँको मौसम र वातावरणमा फूल हुने नहुने बारे एकिन नभएपछि परिक्षणका रूपमा फूल लगाएको पुडासैनी बताउँछन् । पछिल्लो समयमा स्थानीय स्तरका कार्यक्रममा समेत फूलको माला प्रयोगमा बढ्दै गएकाले उत्पादित फूल बिक्रीका लागि सहज हुने अपेक्षा उनी राख्छन् ।

फूल खेतीको अलवा पुडासैनीले जातजातका खुर्सानी , गाेलभेडा, करेला, घिराैला, सागपात इत्यादि तरकारी पनि लटरम्म फलाएका छन् । लेखा विषयमा स्नातकोत्तर हासिल गरेका रामप्रसादको पसिना विभिन्न जातका तरकारीमा रुपान्तरण भएको फार्ममा पुगेका जोकोहीले अनुभूत गर्न सक्छन् । छहरे-टोखा सडक खण्डको थानापतिमा रहेको कृषि फार्मलाई आन्तरिक कृषि पर्यटनको रुपमा समेत बिकास गर्ने लक्ष्य उनको रहेको छ । कोही आएर बस्ने, अर्गानिक तरकारी, दुग्धजन्य पदार्थको स्वाद लिन सक्ने हिसाबले सो फार्म सञ्चालन गरिएको पुडासैनी बताउँछन् ।

हाल सो कृषि फार्मको सक्रियतामा दैनिक ६ सय लिटर दुध समेत संकलन भैरहेको छ । फार्ममा उत्पादित तरकारी वितरणका लागि स्थानीय छहरे बजारमा बिक्री केन्द्र स्थापना गरिएको छ । स्थानीय बजारमा खपत कम भएको खण्डमा काठमाडौंसम्म विभिन्न जातका तरकारी पठाउने गरिएको सञ्चालक पुडासैनीले बताए ।

सो कृषि फार्ममा हाल २० वटा गाई भैंसी पनि रहेका छन् । अर्गानिक फार्म भएकाले गाईइबस्तुको गोबर त्यही फार्मका तरकारीका लागि प्रयोग गरिएको छ । जोसिला युवा पुडासैनीकै अगुवाइमा सो आसपासका कृषकलाई समेटेर जागरुक कृषि सहकारी नामक सहकारी समेत स्थापना गरिएको छ । उनका अनुसार आगामी असोज १२ गते सो संस्थाको साधारणसभा समेत आयोजना गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्