डलरको भाउ घट्यो, सुन र चाँदीको मूल्य भने बढ्यो



काठमाडौं,२४ ।  स्थानीय बजारमा शुक्रवार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीवार सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार १५० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १३५ रूपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढेको छ । आज (नेपाली समय अनुसार बिहान ११:२२ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७२० दशमलव २५ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१० दशमलव ७६ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य भने घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन‌  एक अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ १५ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्