राष्ट्र बैंकले एक हजारका ४३ करोड थान नयाँ नोट छाप्ने



काठमाडौं,भदौ २३ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँदरका नयाँ नोट छाप्ने भएको छ । बैंकले आगामी तीन बर्षका लागि पुग्ने गरी ४३ करोड थान नोट छाप्ने तयारी गरेको हो ।

केन्द्रीय बैंकले नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ । राष्ट्र बैंकले चार खर्ब ३० अर्ब रुपैयाँ नोट छपाइका इच्छुक कम्पनीले डिजाइन, प्रिन्ट र वितरणको प्रस्ताव बैंकमा ३० दिनभित्र पेस गर्न आह्वान गरेको छ ।

नेपालमा नोटको छपाइ नहुने भएकाले नेपाल राष्ट्र बैंकले ग्लोबल टेन्डर आह्वान गरी सबैभन्दा कम मूल्यमा नोट छाप्ने कम्पनीलाई छपाइका लागि अनुमति दिने गर्छ । यस अघि बैंकले तीनका लागि पुग्ने गरी ४० करोड थान नोट छापेको थियो ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले अर्थतन्त्रको आकार, विदेशी मुद्राको सञ्चिति, सुन, चाँदीलगायतका बहुमूल्य द्रव्यहरूको सञ्चिति र अन्तर्राष्ट्रिय मुद्राकोषमा रहेको एसडिआर सुविधालगायतको अध्ययनका आधारमा नोट छपाइको परिमाण तोकेर मुद्रा व्यवस्थापन विभागमा पठाउने गर्छ । विभागले आवश्यक परिमार्जन संशोधन, मौज्दात रहेको नोट, बैंक तथा वित्तीय संस्थाले माग गरेको नोट, धुल्याउने नोट, टेन्डर प्रक्रिया तथा सार्वजनिक खरिद ऐन तथा नियमावली र गभर्नरको हस्ताक्षरसहितका प्रक्रिया पूरा गरेर राष्ट्र बैंक सञ्चालक समिति प्रस्तुत गर्छ । सञ्चालक समितिले अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा हुँदै मन्त्रिपरिषद्मा नोट निष्कासनका लागि प्रस्ताव पठाउँछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै नोट छपाइ सुरु हुने गर्छ ।

मन्त्रिपरिषद्ले नै नोटको ‘सेक्युरिटी फिचर’ (नोटमा प्रयोग हुने निसान, छाप, आकार, प्रकार जनावर, हिमाल तथा नोटको गुणस्तर, असली र नक्कली नोट छुट्याउनका लागि प्रयोग हुने वाटरमार्क) सम्बन्धी आवश्यक निर्णय गर्छ ।

प्रतिक्रिया दिनुहोस्