दैनिक ३ हजारभन्दा धेरै युवा विदेशिँदै, मलेसिया जानेको लर्को



काठमाडौं,भदौ २३ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक २५ सयदेखि ३२ सय जना युवाले श्रम स्वीकृति लिईरहेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०७८ भदौमा २४ हजार युवा नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए । पुनः सहित ३६ हजारले स्वीकृति लिएको देखिन्छ ।

भदौ १ देखि २१ गतेसम्म ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिइसकेका छन् । जसमध्ये मलेसियाका लागि २३ हजार ६३३ जनाले स्वीकृति लिएका छन ।कतारका लागि सात हजार ९७०, युएईका लागि पाँच हजार ४९८, साउदीका लागि चार हजार ७०, कुवेतका लागि दुई हजार ९१५ र अन्य मुलुक गरेर जम्मा ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिएका हुन। यो संख्या भदौ अन्तिमसम्म निकै बढ्ने देखिन्छ ।साउनमा पनि ६३ हजार ४२ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ । जसमध्ये मलेसियाका लागि २४ हजार ४८४, कतारका लागि १२ हजार ५७० जनाले लिएका थिए । त्यस्तै युएईका लागि ८ हजार १४०, साउदीका लागि ६ हजार ७०५, कुवेतका लागि चार हजार २८४ जना र बाँकीले युरोप लगायत अन्य मुलुकका लागि श्रम स्वीकृति लिएका थिए ।

०७८ साउनभन्दा यो साउनमा कामको खोजीमा विदेशिनेको संख्या झन्डै तेब्बरले बढेको छ । गत वर्ष साउनमा २५ हजार हाराहारीले मात्रै नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएका थिए। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या १४ वर्षयताकै उच्च देखिएको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाले पनि कोभिडपछि लामो समय आप्रवासी श्रमिक प्रवेशमा रोक लगायो। जसले गर्दा गत वर्ष नेपाली युवाहरू साउदी पुगेका थिए। मलेसियाले २०७८ फागुनदेखि बल्ल श्रमिकका लागि बाटो खुला ग¥यो। योसँगै नेपाली युवाहरूको ध्यान मलेसियातर्फ तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्