मुद्दती निक्षेपमा थुप्रियो बीमा कम्पनीको लगानी



काठमाडौं,भदौ २२ । बीमा कम्पनीहरूको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा थुप्रिएको पाइएको छ । बीमा समितिले जारी गरेको निर्देशिकाअनुसार कम्पनीहरूले लगानी विविधीकरण गर्न नसक्दा बीमा शुल्कबापत जम्मा भएको रकम बैंकको निक्षेपमा केन्द्रित भएको हो ।

बीमा समितिका अनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा १९ ओटा जीवन र २० ओटा निर्जीवन बीमा कम्पनीले कुल ५ खर्ब २७ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका छन् । उक्त लगानीमध्ये बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ खर्ब ८ अर्ब ४३ करोड लगानी छ । यो बीमा कम्पनीहरूको कुल लगानीको ७७ दशमलव ४८ प्रतिशत हो । मुद्दती निक्षेपमध्ये सबैभन्दा बढी लगानी वाणिज्य बैंकमा छ । वाणिज्य बैंकको मुद्दतीमा कुल लगानीको ६७ दशमलव २४ प्रतिशत, विकास बैंकमा ९ दशमलव शून्य ९ प्रतिशत र फाइनान्स कम्पनीमा १ दशमलव १० प्रतिशत छ ।

कम्पनीहरूकै सुझावअनुसार समितिले तीन वर्षअघि लगानी निर्देशिका परिवर्तन गरी विभिन्न क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । तर, निर्देशिकाअनुसार कम्पनीहरूले लगानी गर्न सकेनन् । फलस्वरुप उनीहरू मुद्दती निक्षेपमा केन्द्रित भए ।

समितिले २०७५ चैतमा जारी गरेको निर्देशिकामार्फत बीमा कम्पनीहरूलाई मुद्दती निक्षेप र शेयरका अतिरिक्त घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटनलगायतका पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खोलेको थियो । तर, निर्देशिकाले खुला गरेका नयाँ क्षेत्रमा बीमा कम्पनीहरू आकर्षित हुन सकेको देखिँदैन ।

निर्देशिकाअनुसार कम्पनीहरूले आफ्नो कुल टेक्निकल रिजर्भको न्यूनतम ४०–४० प्रतिशत वाणिज्य र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा तथा सरकारको बचतपत्रमा न्यूनतम ५ प्रतिशत लगानी गर्नुपर्छ । त्यसैगरी बढीमा २० प्रतिशत विकास बैंक र बढीमा १० प्रतिशत फाइनान्स कम्पनीको निक्षेपमा लगानी गर्न पाउँछन् ।

त्यसैगरी घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म, सूचीकृत कम्पनीको साधारण शेयरमा १० प्रतिशतसम्म र अग्राधिकार शेयरमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यस्तै सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशतसम्म, कृषि पर्यटन जलस्रोतलगायतका पूर्वाधारमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

बीमा कम्पनीहरूले अहिलेसम्म निर्देशिकाअनुसार लगानी विविधीकरण गर्न सकेको देखिँदैन । उनीहरूको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपपछि ऋणपत्र र शेयर बजारमा मात्र केन्द्रित छ ।

निर्देशिकाअनुसार नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्नुपर्ने भए पनि कम्पनीहरूले शून्य दशमलव शून्य ५ प्रतिशत मात्र लगानी गरेका छन् । यो बैंकमा जीवन बीमा व्यवसाय गर्ने नेपाल, सूर्या, प्राइम, ज्योति र सन नेपाल गरी पाँच कम्पनीले ५–५ करोडको दरले २५ करोड रुपैयाँ लगानी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले भने हालसम्म पूर्वाधार बैंकमा लगानी गरेका छैनन् ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशिकाअनुसार बीमा कम्पनीहरूले लगानी गर्न नसकेको बताए । ‘कम्पनीहरूको मागअनुसार हामीले निर्देशिका परिवर्तन गरेर लगानीका विभिन्न क्षेत्र खुला गरेका हौं,’ उनले भने, ‘तर, उनीहरूले लगानीको जोखिम मोल्न चाहेका छैनन् ।’ बीमा कम्पनीमा जम्मा भएको पूँजीबाट देश विकासमा योगदान होस् भनेर निर्देशिका व्यावहारिक बनाउने र उनीहरूलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न बाध्यकारी व्यवस्था गर्ने समेत सिलवालले बताए ।

बीमा कम्पनीहरूले पूर्वाधार विकासका क्षेत्रमा लगानी नगरेको भन्दै समितिले एक वर्षअघि निर्देशिकाअनुसार लगानी गर्न निर्देशन पनि दिएको थियो ।

तर, कम्पनीहरू पूर्वाधारका क्षेत्रमा १ दशमलव ४१ प्रतिशत मात्र लगानी गरेका छन् । यो भनेको ७ अर्ब ४५ करोड रुपैयाँ हो । यो ७ अर्ब ४५ करोडमा जीवन बीमा कम्पनीको ७ अर्ब १४ करोड र निर्जीवनको ३० करोड रुपैयाँभन्दा बढी रहेको समितिले जानकारी दिएको छ ।  निर्देशिकाले बीमा कम्पनीहरूले घरजग्गामा समेत लगानी गर्न पाउने व्यवस्था पनि गरेको थियो । तर, यसप्रति कम्पनीहरू अनिच्छुक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्