बुटवल–लुम्बिनी प्रसारण लाइनको ऊर्जामन्त्रीद्वारा उद्घाटन, उद्योगीले मागेजति बिजुली पाउने



काठमाडौं,भदौ २१ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वद्धि र प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमवार सरकार र  नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी हुन् । प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करीब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा पनि सुधार हुने छ ।

उक्त अवसरमा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत् अन्तरराष्ट्रिय बजारमा विक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन् । ‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पुरयाउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौं, यसकासाथै बूढीगण्डकीलगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गरिने छ’, उनले भनिन् ।

उनले भनिन्,  ‘खाना पकाउन प्रयोग हुने एलपिजी ग्यासको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत् दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिंचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ ।’

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरुलाई मागेजति विद्युत् दिन सकिने अवस्था बनेको बताए । बुटवल सबस्टेसनमात्र विद्युत आपूर्ति दिंदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अव यस क्षेत्र विद्युत् हब बनेको र वितरण प्रणालीमा सुधार भएको पनि बताए।

प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । १३२/ ३३/ ११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत् आपूर्ति दिइएको आयोजना प्रमुख हरी पाण्डेले बताएका छन्। 

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसार संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत्  व्यापारलाई अझ सहज बन्ने प्राधिकरणले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्