नयाँ योजना र चाडले बढायो निक्षेप



काठमाडौं,भदौ २१ । बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ ।

संघका अनुसार भदौ १० गतेसम्ममा बैंकहरूमा कुल ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ निक्षेप रहेकोमा भदौ १७ गते ४४ खर्ब ३७ अर्ब ४५ करोड पुगेको छ । पहिलो साता बैंकहरूको निक्षेप घटे पनि दोस्रो र तेस्रो साता बढेको छ । भदौ पहिलो साता ७ अर्ब ७२ करोड रुपैयाँले निक्षेप घटेको थियो ।

आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका छन् । निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले सर्वसाधारणको निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १० गुणासम्म प्राप्त हुने २१ वर्ष अवधिसम्मका मुद्दती निक्षेप योजना ल्याएका छन् । त्यस्तो मुद्दती निक्षेपमा ब्याजका अतिरिक्त बीमा, क्रेडिट कार्ड, सुलभ कर्जा जस्ता सुविधासमेत दिएका छन् ।

बैंकहरूका आकर्षक मुद्दती योजनाले निक्षेप वृद्धिमा सकारात्मक प्रभाव पारेको छ । बैंकहरूलाई निक्षेप बढाउनुपर्ने दबाब भएका कारण नयाँनयाँ योजना ल्याएका र त्यसको प्रभाव सकारात्मक देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । बैंकिङ प्रणालीमा रकम बढ्नुको अर्को कारण चाडपर्वको समयलाई पनि मानिएको छ । चाडपर्वमा विदेशबाट आउने विप्रेषण बढ्ने र आन्तरिक बजारमा पनि चहलपहल बढ्ने भएकाले बैंकहरूको निक्षेप बढेको हो ।

शनिवार एक सार्वजनिक कार्यक्रममै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विप्रेषण वृद्धि भएको र यसबाट अर्थतन्त्र सकारात्मक दिशामा रहेको टिप्पणी गरेका थिए । आर्थिक वर्ष २०७८/७९ मा विदेशमा रहेका नेपालीबाट १० खर्ब ७ अर्ब ३१ करोड विप्रेषण भित्रिएको थियो ।

गत असारमा मात्रै १ खर्ब ३ अर्ब रुपैयाँ बराबर विप्रेषण भित्रिएको थियो ।

निक्षेप वृद्धिसँगै बैंकहरूले कर्जा प्रवाह पनि बढाएका छन् । भदौ तेस्रो साता वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ६७ अर्ब रुपैयाँले विस्तार भएको छ । यसअघि पहिलो साता १ खर्ब ७३ अर्ब र दोस्रो साता १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

साउन अन्तिममा ४१ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १७ गते बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

बैंकहरूले प्रवाह गरेको कर्जाभन्दा निक्षेप संकलन धेरै बढेपछि कर्जा–निक्षेप (सीडी) अनुपातमा केही कमी आएको छ । संघका अनुसार भदौ १० गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८८ दशमलव ४२ प्रतिशत रहेकोमा १७ गते ८८ दशमलव २५ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले सीडी रेसियो ९० प्रतिशतभित्र कायम गर्नुपर्छ । उक्त अनुपात कायम गर्न नसक्ने बैंकहरूलाई बढी भएको रकममा हर्जाना लगाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्